सिरहा । सिरहा जिल्लाका एक शिक्षकले ४ वटा नागरिकता बनाएको भेटिएपछि उनको जागिर खुस्किएको छ । शिक्षा विकास तथा समन्वय इकाई सिराहाले मंगलबारको निर्णयअनुसार निमाशि (द्वितीय) दरबन्दीका शिक्षक सकलदेव यादवलाई १७ असोज २०७६ देखि लागू हुनेगरी अनिवार्य अवकाश दिएको हो ।

समन्वय इकाईमा शिक्षक यादवमाथि उजुरी परेपछि जिल्ला प्रशासन कार्यालयबाट यादवको नागरिकताको प्रमाणित प्रतिलिपी झिकाएर छानविन गर्दा उमेर हद १४ महिना ६ दिन बढी भेटिएपछि अनिवार्य अवकाश दिइएको निमित्त इकाई प्रमुख शशिकुमार यादवले बताए ।

उनका अनुसार यादवले जिल्ला प्रशासन कार्यालयबाट झिकेको चारवटा नागरिकता मध्ये दुईवटा इकाईले फेला हाे ।

उजुरी परपछि इकाईबाट सक्कल नागरिकता कार्यालयमा पेस गर्न भनिए पनि यादवले आनाकानी गर्दै आएका थिए । जिल्ला प्रशासन कार्यालय सिराहाबाट विभिन्न मितिमा फरक–फरक जन्ममिति तर, एउटै ५७९५ नम्बरका चारवटा नागरिकता झिकेर उमेर हदभन्दा बढी शिक्षण गरी राज्यकोषको दोहन गरिरहेको उजुरी परे लगत्तै छानिबन गर्दा त्यसको पुष्टि भएपछि अनिवार्य अवकाश दिइएको निमित्त इकाई प्रमुख यादवले बताए ।

‘त्यसमध्ये एउटा नागरिकताको जन्ममिति अनुसार अझै तीन वर्ष उमेर हद बाँकी देखिन्छ,’ उनले भने। सिरहा नगरपालिका माडरका स्थायी बासिन्दा रहेका यादवविरुद्ध तीनजनाले दोहोरो नागरिकता लिएर शिक्षण सेवा अवधि लम्ब्याई राज्यकोषको दोहन गरिरहेको आरोपसहित ११ मंसिरमा उजुरी दिएका थिए ।

नागरिकता किर्ते गरेको हुँदा उनीमाथि फौजदारी अभियोगसमेत लाग्ने शिक्षा समन्वय इकाईका प्रमुख शशिकुमार यादवले जानकारी दिए । उनले भने, ‘अहिलेसम्म शिक्षक यादवको नाममा एउटै नम्वर भएको फरक फरक जन्ममितिको ४ बटा नागरिकता फेला परेको छ, हामी प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसंग समन्वय गर्दैछौं, उनीमाथि फौजदारी अभियोग लाग्न सक्छ ।’ त्यसको बोधार्थ राष्ट्रिय निजामती किताबखाना, कर्मचारी सञ्चयकोष, नागरिक लगानीकोष, जिल्ला प्रशासन कार्यालय सिराहा, जिल्ला प्रहरी कार्यालय सिराहा, सिरहा नगरपालिका र सम्बन्धित विद्यालयलाई दिइएको छ ।

उमेर बढाएर राज्यकोषबाट तलब, ग्रेडसहित अन्य सेवा–सुविधाबापत लिएको रकम फिर्ताका लागि जिल्ला सरकारी वकिल कार्यालयसँग परामर्श गरी आवश्यक कदम चालिने इकाईले जनाएको छ ।

यादव अखिल शिक्षक संगठनको तर्फबाट सिरहा जिल्लाको शिक्षक युनियनका अध्यक्ष समेत भएका थिए । उनी युनियनको अध्यक्ष भएकाले नियमित विद्यालयमा पठन पाठनमा सहभागी नहुने गुनासो पनि यसअघि हुँदै आएको थियो ।

जिल्लाको सदरमुकाम सिराहास्थित चन्द्र नमूना मावि (प्राविधिक) मा कार्यरत शिक्षक सकलदेव यादवले फरक–फरक जन्ममिति राखेर चारवटा नागरिकता बनाएर उमेर हदभन्दा बढी शिक्षण गरिरहेको खुलेपछि अनिवार्य अवकाशमा परेको जनकपुरबाट प्रकाशित हुने टुडे एक्सप्रेस दैनिकमा समाचार प्रकाशित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय