प्रदेश २

बोक्सी भन्दै  महिलामाथि कुटपिट, पिडित प्रहरीमा उजुरी दिएपछि २५ हजारमा गाउँमै मिलापत्र

By हाम्रो जनकपुर डेस्क

November 25, 2020

सिरहा ।सिराहामा एक महिलामाथि बोक्सी आरोपमा निर्घात कुटपिट गरिएको छ । उनले प्रहरीमा उजुरी दिएपछि स्थानीय बासिन्दाले दबाब दिएर २५ हजारमा गाउँमै मिलापत्र गराएका छन् ।

सिराहाको मिर्चैया नगरपालिका वडा नम्बर ११ गदहवाकी ४० वर्षीया प्रमिलादेवी यादवलाई छिमेकीले निर्घात कुटपिट गरेका हुन्। गदहवाकै दुखी यादवलाई बोक्सी लगाएर बिरामी पारेको भन्दै उनका तीनजना छोराले कुटपिट गरेको प्रमिलादेवीले बताइन् । ‘बोक्सी लगाएको भन्दै तीनै दाजुभाइले कुटे,’ उनले भनिन् ।

बोक्सीको आरोपमा दुखी यादवका तीनजना छोरा लक्ष्मण, श्याम र अरुणकुमारले कुटपिट गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी सन्तुलालप्रसाद जैसवालले बताए । उनलाई ३ मंसिरमा घरमै रहेको वेला कुटपिट गरिएको थियो । मिर्चैया स्वास्थ्य चौकीमा उपचारपछि उनी घरमै आराम गरिरहेकी छिन् ।

घटनालगत्तै प्रहरी टोली गाउँमा पुगेको थियो । उनले दिएको जाहेरीका आधारमा प्रहरीले घाउ जाँच गराएको डिएसपी जैसवालले बताए । प्रहरीले कारबाही प्रक्रिया अघि बढाएपछि स्थानीयले मिलापत्र गराउन दबाब दिएका हुन् । पञ्चायत बसेर आइतबार मिलापत्र गराएको पाइएको डिएसपी जैसवालले बताए । ‘स्थानीय बासिन्दाले महिलामाथि दबाब दिएर पञ्चायत गरी २५ हजार रुपैयाँमा मिलापत्र गराएका रहेछन्,’ उनले भने ।

गाउँमा मिलापत्र गराएपछि कुटपिट गर्ने तीनै दाजुभाइ मुद्दा फिर्ता गराउन सोमबार इलाका प्रहरी कार्यालय मिर्चैया पुगेका थिए । उनीहरू तीनैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको डिएसपी जैसवालले बताए । ‘यस्तो अमानवीय घटनामा मिलापत्र गराउन मिल्दैन, आरोपित तीनैजनालाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएका छौँ,’ डिएसपी जैसवालले भने ।

गत महिना सिराहाको नवराजपुर गाउँपालिका–४ कुसन्डीकी मूर्तिदेवी यादवलाई बोक्सीको आरोपमा मलमूत्र खुवाएर मरणासन्न हुने गरी कुटपिट गरिएको थियो । उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गरिएको थियो भने कुटपिट गर्ने सन्तोष यादवमाथि मुद्दा चलाइएको थियो । तर, जिल्ला अदालत सिराहाले दुई लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो । मूर्तिदेवी भने अझै निको भएकी छैनन् ।