जनकपुरधाम । हिजो (सोमबार)देखि हिन्दू नेपालीको दोस्रो महान् पर्व तिहार सकिएको छ । यम पञ्चकको पाँचौ दिन भाइटीका लगाएसँगै यो पर्व सकिएको हो ।

तिहार सकिएसँगै मधेसी समूदायमा भव्य रुपमा मनाइने छठ पर्वको रौनक सुरु भएको छ ।

विशेषत सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रुपमा लिईन्छ। यो पर्व नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृति भएका कारण यसका निम्ति आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न सर्वसाधारण व्यस्त छन् ।

यस पर्वमा आवश्यक पर्ने बाँसका डाला, नाङ्लो, ढकिया, कनसुप्ती, माटोका सामग्री, नरिवल र सख्खर किनमेल गर्नेको भीड बढेको छ ।

यस पर्वमा प्रसादका रुपमा केरा, फलफूल, पान, सुपारी, भण्टा, मुला, सुथनी, अलुवा, जुटा, उखु, ठेकुवा, भुसुवा र मीठाइ चढाउने गरिन्छ । बजारमा यी सामानहरु पनि बेच्न राखिएका छन् ।

चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको लागि पहिलो दिन नुहाएर चोखो भई बस्ने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रुपमा समापन हुने गर्छ ।

यस अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामललगायतका खाद्य वस्तु अनिवार्य रुपमा बार्ने चलन छ । अर्थात् यी खानेकुरा बर्जित छ ।

पोखरी, तलाउ, नदी, खोला वा जलाशय भएको क्षेत्रमा यो पर्व मनाइने गरिएकाले विभिन्न ताल नदी छेउछाउमा यो पर्व मनाईन्छ । तर कोरोनाको कहर अझै कायमै रहेका कारण यसपटक पहिलेजस्तो भीडभाड गर्न नहुने भएको कारण पनि छठ पूजाका लागि भौतिक दूरी कायम गरि छुट्टाछुट्टै रुपमा पूजाआज गर्न भनिएको छ भने विभिन्न स्थानहरुमा सरसफाइ तथा घाट निर्माण कार्य भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय