जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिका ९ (साविक चन्द्रोदयपुर ८) मा करिब ९ बिघा जग्गा अतिक्रमण भएको भन्दै जनकपुरमा प्रदर्शन गरिएको छ ।

सरकारी जग्गा बचाऊँ अभियान संघर्ष समितिका पदाधिकारी र स्थानीयले जनकपुर आएर प्रदर्शन गरेका हुन् । उनीहरू मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि अनिश्चितकालीन धर्नाका लागि आएका थिए । तर, सुरक्षाकर्मीले रोकेपछि उनीहरूले सडकमै धर्ना र प्रदर्शन गरेका छन् ।

जनकपुर चुरोट कारखानामा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएकाले सिरहाबाट आएकाहरूलाई सुरक्षाकर्मीले त्यता दिएका छैनन् ।

प्रदर्शनकारीलाई रोक्न बिहानदेखि नै त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । तर, प्रदर्शनका लागि सिरहाबाट आएकाहरू मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गएरै छाड्ने अडान लिएका छन् । सुरक्षाकर्मीले रोकेपछि उनीहरू करिब ३ सय मिटर पर सडकमै धर्नामा बसेका छन् ।

संघर्ष समितिका संयोजक चन्देश्वर पासवानले वनबुट्यान रहेको वनको जग्गा वनकै नाममा फिर्ता गर्नुपर्ने, सुकुम्बासी समस्या समाधान आयोग २०५८ को निर्णय सार्वजनिक गर्नुपर्ने र भूमाफिया तथा तत्कालीन सुसस आयोगको सदस्य र जनप्रतिनिधि लगायत संलग्न दोषीलाई कारबाही गर्नुपर्ने तीन बुँदे माग लिएर मुख्यमन्त्री कार्यालय अगाडि अनिश्चितकालीन धर्ना बस्न आफूहरू आएको बताएका छन् ।

उनका अनुसार करिब तीन बिघा वनको जग्गा मारुती सिमेन्ट उद्योगले पनि कब्जा गरेको छ । राजमार्ग छेउमै रहेको उक्त जग्गा करोडौंको छ । जग्गा अतिक्रमणमा जनप्रतिनिधि र प्रशासनको पनि हात छ । त्यसैले फिर्ता गराउन कसैले चासो देखाएका छैन ।

मुख्यमन्त्री लालबाबु राउतले अतिक्रमित जग्गा फिर्ता गराउने आश्वासन दिए पनि चासो नदेखाएको उनको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय