जनकपुरधाम, कार्तिक २० । धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले बजेट कार्यक्रम आउन नसक्दा शिक्षक तथा स्वास्थ्यकर्मीहरु महिनौ महिनादेखि तलब बाट बञ्चित भएका छन् ।

साे गाउँपपालिकामा कार्यरत शिक्षक तथा स्वास्थ्यकर्मीहरु ७ महिनादेखिको तलब पाएका छैनन् ।

गाउँपालिकाको गाउँसभा सम्पन्न भएपनि जनप्रतिनिधिहरुको विवादका कारण बजेट अझै आउन सकेको छैन ।

जनप्रतिनिधिहरुकै आन्तरिक विवादका कारण चालु आर्थिक वर्षको ५ महिना बितेपनि बजेट आउन नसकेको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाका प्रशासकिय अधिकृत सुवोध कुमार ठाकुरले बताए ।
प्रशासकिय अधिकृत ठाकुरले भने ‘ बजेट जनप्रतिनिधिहरुले बनाउने, गाउँ सभामा जनप्रतिनिधि र बोर्ड सदस्यबीच कुरा मिल्न नसक्दा गाउँ सभा सम्पन्न भएपनि बजेट आउन नसकेपछि समस्या उत्पन्न भएको हो ।’

बजेट कार्यक्रम तयार हुन नसकेको र अख्तियारी आउन नसकेकै कारण शिक्षक तथा स्वास्थ्यकर्मीहरुको महिनौदेखिको तलब बाँकी रहेको उनले बताए ।

श्रोतका अनुसार शिक्षक तथा स्वास्थ्यकर्मी लगायतका कर्मचारीहरुले तलबका लागि ताकेता गर्न थालेपछि अध्यक्ष मनोज यादव र उपाध्यक्ष मीरादेवी महतो गाउँपालिकाको कार्यालय समेत आउन छाडेका छन् ।
यस विषयमा अध्यक्ष यादव र उपाध्यक्ष महतोसंग जिज्ञासा राख्नका लागि सम्पर्क गर्दा कोही सम्पर्कमा आउन चाहेनन् ।

गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत ठाकुरका अनुसार जनप्रतिनिधिहरु बिचको आन्तरिक किचलो समाधान नभएसम्म बजेट कार्यक्रम तयार हुने छाँटकाँट नरहेको र तलब सम्बन्धि समस्या तत्काल समाधान हुने सम्भावना छैन ।

मुखियापट्टी मुसहरनिया गाउँपालिकमा प्रावि तथा मावि गरी कूल ११ वटा विद्यालयमा कार्यरत शिक्षक र कूल ४ वटा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुले तलब पाउन सकेका छैनन् ।
स्वास्थ्यकर्मीहरु आर्थिक वर्ष २०७६-०७७ को जेठ महिनादेखि सीएमए, अहेव र एचए गरी ३५ जना स्वास्थ्यकर्मीको तलब, दशैं पेश्की र क्वारेन्टाईनमा खटेकाहरुको जोखिम भत्ता बाँकी रहेको छ ।
यता शिक्षकतर्फ प्रावि तहका १० वटा विद्यालयका शिक्षकहरुले चालु आर्थिक वर्षको असारदेखि हालसम्मको तलब र मावि तहका शिक्षकहरुको आर्थिक वर्ष २०७६÷०७७को वैशाख महिनादेखि हालसम्मको तलब बाँकी रहेको छ ।
मावि तहमा ६ जना र प्रावि तहमा ८०, बालविकास तर्फ ८२ र कर्मचारीहरु १२ जना गरी कूल १ सय ८० जनाले तलब पाउन सकेका छैनन् ।
सो गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी जयकुमार यादवले हामीले पटक पटक बाँकी रहेको तलब माँग गर्दै आएपनि प्रमुख प्रशासकीय अधिकृतले आफूलाई गाउँपालिका अध्यक्षले अख्तियारी नदिएका कारण भुक्तानी गर्न नमिल्ने भन्दै आएको बताए ।

उनले भने ‘दशैं जस्तो पर्वमा समेत तलब, दशैं पेश्की र जोखिम भत्ता नदिंदा निकै अप्ठ्यारो भएपछि बाध्य भएर जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझायौं तर कुनै निकायले चासो अहिलेसम्म लिएको छैन ।‘
स्वास्थ्यकर्मी र शिक्षकहरुले बक्यौता तलबको मांग गर्दै पछिल्लो साता जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र समेत बुझाई सकेका छन् ।

तत्काल आफूहरुको बाँकी रहेको तलब उपलब्ध गराइएन भने आन्दोलनमा जाने चेतावनी गाउँपालिकामा कार्यरत शिक्षक तथा स्वास्थ्यकर्मीहरुको रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय