रंजित चौरसिया,

हाम्रो जनकपुर/वीरगंज । पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका वडा नं. ३ मा आयोजित बृहत पार्टी प्रवेश तथा नेपालीहरुको महान चाड दशै, तिहार, छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रमका प्रमुख अतिथि डा. भट्टराईले नेपाली काङ्ग्रेस र नेकपाबाट जनताको परिवर्तनको माग पूरा नहुने भन्दै जनताको माग सम्बोधन हुनको लागि जनता समाजवादी पार्टी आवश्यक भएको जिकिर गरे । उनले जसपाले उत्पीडित, वञ्चित समुदायको पक्षमा आवाज बुलन्द गर्ने र सडक, सदनबाट हक सुनिश्चित गराएरै छाड्ने दाबी गर्दै वर्तमान सरकार एकल जातीय राज्य कायम गर्न लागेको दोषारोपण गर्नु भयो ।

पुरानो संसदीय व्यवस्थाको कारण देशमा भ्रष्टाचार मौलाएको आरोप लगाउदै डा. भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदीय व्यवस्था नहुन्जेलसम्म देशमा स्थिर राजनीति कायम हुन नसक्ने दाबी गर्नु भयो ।

जसपाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले आफ्नो पार्टीले सबै प्रकारका विभेद अन्त्य गर्न चाहेको र त्यसको लागि सधैं सङ्घर्ष गरिरहने बताउनु भयो । मूल प्रवाहमा पछाडि परेका समुदाय अगाडि नआएसम्म देशमा परिवर्तन नआउने बताउदै उनले देशमा राजनीतिक परिवर्तन भएपनि नेकपा र नेकाको सोचमा परिवर्तन नभएको कारण जनताको जीवनस्तरमा परिवर्तन हुन नसकेको आरोप लगाउनु भयो ।
पकहामैनपुर गाउँपालिकाका प्रमुख बिजय चौरसियाले स्वागत गर्नु भएको कार्यक्रममा उपेन्द्र यादव, भोला प्रसाद कानु, सुदर्शन राम लगायतको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी करिब ११ सयको हाराहारीमा नेता कार्यकर्ताहरु जसपामा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई पार्टीको बरिष्ठ नेताहरुले अबिरको टिका र फुलमाला लगाई स्वागत गर्नु भएको थियो ।

जसपा पकहामैनपुरका अध्यक्ष बिनोद मेहताको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश नं. २ को मुख्यमन्त्री लालबाबु राउत, नेता राजेन्द्र श्रेष्ठ, पर्सा क्षेत्र नं. १ का सांसद प्रदीप यादव, क्षेत्र नं. ३ का निलम्बित सांसद हरिनारायण रौनियार, प्रदेशसभा सदस्य प्रह्लाद गिरी, भीमा यादव, करीमा बेगम, जिल्ला अध्यक्ष रामनरेश यादव, नेताहरू निजामुदिन समानी, वीरेन्द्र यादव, सुन्दर कुर्मी, तबरेज अहमद, मुकेश द्विवेदी लगायतका नेता कार्यकर्ताहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय