हाम्रो जनकपुर / जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई परिवर्तन गरिने चर्चा चलेको छ । जनता समाजवादी पार्टीको संसदीय दलका नेता चयनपछि सरकार परिवर्तन गर्ने चर्चा चलेको हो ।

मधेश केन्द्रित दुई दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच गठबन्धन सरकार रहँदा राउत मुख्यमन्त्री बनेको थियो । तर सपा र राजपाबीच एकीकरण भएर जसपा बनेपछि सरकार परिवर्तन हुने सम्भावना बढेको नेताहरु बताउँछन् ।

पछिल्ला दिनमा प्रदेश २ मा राउतको अढाई वर्षे कार्यकाल सोचअनुरुप सफल नभएको निष्कर्ष निकाल्दै नेताहरु सरकार परिवर्तन गर्ने सोचमा पुगेका छन् । पार्टी एकिकरण भएपछि संसदीय दलका नेता चयन गर्न घनिभूत प्रयास भइरहेको छ ।

प्रदेश २ का मुख्य मन्त्री फेरिने पक्का भएको जानकारी दिँदै जसपा सांसद मनिष सुमनले जसपाको २ नम्बर प्रदेशको संसदीय दलको अब बन्ने नेता नै मुख्यमन्त्री हुने जानकारी दिएको इमेज खबरले जनाएको छ ।

उनले अहिलेको मुख्य मन्त्री राउत मात्र नभई सरकारको टीम नै परिवर्तन हुने पनि बताए । अधिकांश सांसद भने सरकारमा मुख्यमन्त्रीदेखि मन्त्रीहरुको टोली नै नयाँ ल्याउनुपर्ने पक्षमा उभिएका छन् ।

संघीयताको सफलता र विफलता मुलतः २ नम्बर प्रदेशको सरकारको कार्यकुशलता र जनताबीचको सन्तुष्टीमा निर्भर रहेकाले प्रभावकारी सरकार बनाउनु जरुरी रहेको साँसद सुमनको तर्क छ ।

राउतको स्थानमा संसदीय दलको नेता चुनिएर मुख्य मन्त्री बन्ने दौडमा यतिबेला बहालवाला भौतिक मन्त्री जितेन्द्र सोनल, आर्थि मामिला तथा योजना मन्त्री विजय यादव, सांसद मनिष सुमन र अर्का साँसद उपेन्द्र महतो छन् ।

राउत र यादव तत्कालिन समाजवादी पार्टी, सोनल, सुमन र महतो तत्कालिन राजपा नेपालका सांसद हुन् । यसअघि नेकपाले प्रदेश २ को सरकार ढाल्ने प्रयास थाल्दा दुई दल एक भएका थिए भने अहिले एकीकृत पार्टीले नै सरकारमा नयाँ अनुहार ल्याउन चाहेको हो ।

यसका लागि जसपाका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, डा. बाबुराम भट्टराईबीच समझदारी समेत भएको दाबी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय