हाम्रो जनकपुर / काठमाडौं : प्रहरीले काठमाडौं र नुवाकोटबाट दुई युवालाई पक्राउ गरेको छ। उनीहरु पेस्तोल र त्यसमा लाग्ने गोलीसहित पक्राउ परेका हुन्। काठमाडौंको माछापोखरी क्षेत्रबाट दुईवटा पेस्तोल र त्यसैमा लाग्‍ने १० राउण्ड गोलीसहित ती युवालाई पक्राउ गरिएको हो।

प्रहरीले एक जनालाई माछापोखरीबाटै र अर्का एकलाई पहिले पक्राउ परेकाको आधारमा नुवाकोटबाट पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा दुवैजना नुवाकोटकै हुन्। प्रहरी निरीक्षक भोला कुमार भट्ट नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

नुवाकोटको शिखर बेँसीका विकेश पण्डित र लिपुका अमर तामाङलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ। उनीहरु दुवैले जेलमै रहँदा पनि हतियार र अपराध धन्दालाई निरन्तरता दिएको खुलेको छ।

विकेशलाई अमरले हतियार दिएपछि तोकेको ठाउँमा लैजाँदै गर्दा प्रहरीले पक्राउ गरेको हो। महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाले उनीहरूमाथि थप अनुसन्धान भइरहेकाे बताए।

‘उनीहरूलाई अहिले नियन्त्रणमा मात्रै लिइएकाे हाे। बाँकी अनुसन्धान हुँदै छ,’ उनले भने। तामाङ पटकेमा अभियुक्त पनि हुन्। उनले गत फागुनमा मात्रै ६ वर्ष २ महिना कैद सजाय भुक्तान गरेर छुटेका थिए।

उनलाई डाँकासम्बन्धी मुद्दा लागेको थियो। पक्राउपछि अपराध महाशाखामा बयान दिने क्रममा तामाङले उक्त हतियार सबै धनुषाका शम्भु कार्कीको भएको बताएका छन्।

कार्की हातहतियार तथा खरखजाना डाँका मुद्दा लागेर जेलमा रहेका व्यक्ति हुन्। उनीहरुले बालाजुका एक होटल व्यवसायीलाई हतियार राख्‍न दिएको खुलेको छ। त्यहीँबाट हतियार लिएर तामाङले पाण्डेलाई राख्‍न लगाएका प्रहरीको अनुसन्धानबाट खुलेको छ।सभार थाहाखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय