हाम्रो जनकपुर / सिरहा । सिरहा सदरमुकामस्थित आइसोलेशनमा बस्दै आएका कोरोना संक्रमितहरुले आफूहरुलाई यहाँ भेडाबाख्रा झैँ राखेर छाडिदिएको गुनासो गरेका छन् । जिल्ला अस्पतालद्वारा सिरहास्थित चमाविमा सञ्चालित उक्त आइसोलेशनका संक्रमितहरुले व्यवस्थापन पक्षको लापरवाहीका कारण आफूहरु भगवान भरोसे बसिरहेको गुनासो गरेका हुन् । यहाँ जुनसुकै बेला जटिल रोग लाग्न सक्ने त्रासमा संक्रमितहरु छन् । आइसोलेशनमा चेकजाँचसमेत नहुने गरेको उनीहरुको गुनासो छ । एकजना नर्सकै भरमा आइसोलेशन सञ्चालन भइरहेको उनीहरुले बताए । ‘डाक्टर यहाँ मुख देखाउन पनि आएका छैनन्,’ एकजना संक्रमितले भने, ‘एकजना नर्स बिहान एकचोटी नामको लागि आउँछिन्, सोधेर जान्छिन्, केहि समस्याभन्दा पनि वास्ता हुँदैन ।’ खाना–नास्ता पनि खानै मन नलाग्ने खालको दिने गरेको, फोहर र लामखुट्टे आजित बनेको उनीहरुले बताए ।

‘यहाँ न खानपान राम्रो छ, नत जाँच नै हुन्छ, फोहर पनि सफाइ हुँदैन,’ एकजना संक्रमितले भने, ‘यहाँ हामी भेडाबाख्रा झैँ अलपत्र राखिएका छौं, कतिबेला के हुने हो ठेगान छैन ।’ आइसोलेशनमा बसेका संक्रमितहरुले आफूहरुलाई दैनिक मासुभात नै दिनु नपर्ने भन्दै कम्तिमा पनि कोरोना भाइरससँग लड्न शक्ति दिने पोषिलो खानेकुरा दिनुपर्ने बताए । ‘आइसोलेशनमा नभई नहुने तातो पानीको व्यवस्था छैन, सेनिटाइजर त दिँदैन, अन्य कुरा परै जाओस्,’ अर्का एकजना संक्रमितले भने, ‘यहाँ नदिएका सामानहरु घरबाट मगाउँदा पनि दुईतीन दिनमा दिन्छ, कैदी जस्तै बसिरहेका छौं ।’ कोरोना संक्रमित पनि यहि समाजको हो, पोजेटिभ भएपनि मानवीय व्यवहार गरेर हौसला दिनुपर्ने बताउँदै पशु जस्तो भइरहेको व्यवहारप्रति उनीहरुले आपत्ति जनाएका छन् ।

उनीहरुले यहाँको व्यवहार र व्यवस्थापन हेर्दा नाम मात्रको आइसोलेशन भएको बताए । आइसोलेशनमा प्रभावकारी उपचार तथा व्यवस्थापन मिलाइएको छैन । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले निर्दिष्ट गरे अनुसारको मापदण्ड पूरा गरेको केही पनि छैन । हरेक संक्रमितको लागि छुट्टाछुट्टै कोठा, शौचालय, खानेपानी र नुहाउने व्यवस्था हुनुपर्ने भनिए तापनि आइसोलेशन सञ्चालन गरिरहेको जिल्ला अस्पताल प्रशासनले यस विषयमा लापरवाही गरिरहेको देखिएको छ । चमाविको आइसोलेशनमा हाल १९ जना छन् । एउटै शौचालय उनीहरु सबैले प्रयोग गर्छन् । सामान्य अवस्थामा प्रयोग गर्न सकिने भएता पनि संक्रमण भएको अवस्थामा भने यो डरलाग्दो व्यवस्थापन हो ।

स्नानघर पनि एउटै रहेकोले लक्षण भएका र लक्षण नभएका संक्रमितहरुले एउटै स्नानघर प्रयोग गर्दा समस्या निम्तिन सक्छ । सिरहाको जिल्ला अस्पतालले जिल्ला अस्पतालसहित, चमावि सिरहा र महेन्द्र गेनाई अस्पताल धनगढीमाईमा गरी तीन स्थानमा आइसोलेशन कक्ष सञ्चालन गरेको छ ।

जसमध्ये हाल चमावि र महेन्द्र गेनाई अस्पतालको आइसोलेशनमा संक्रमितहरु उपचारका लागि छन् । महेन्द्र गेनाई अस्पतालमा सञ्चालित आइसोलेशनको अवस्था पनि उस्तै छ । यहाँ हाल २५ जना संक्रमित उपचाररत छन् । दुबै आइसोलेशन गरी हाल जिल्लामा ४४ जना संक्रमितहरु उपचार गराइरहेका छन् ।

आइसोलेशनको व्यवस्थापन यतिको फितलो भएपनि जिल्ला अस्पतालले भने कोरोना संक्रमण रोकथाम तथा उपचारको नाममा झण्डै एक करोड ३८ लाख ५९ हजार ७ सय ७ रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरेको छ । यस सन्दर्भमा जिल्ला अस्पताल सिरहाका मेडिकल सिपरिटेन्डेन्ट (मेसु) डा. नागेन्द्र यादवसँग प्रतिक्रिया लिन पटकपटक फोन सम्पर्क गर्न खाजेपनि सम्पर्क हुन सकेन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय