हाम्रो जनकपुर / काठमाडौं : प्रदेश २ मा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि प्रदेश सरकारले संघीय सरकारलाई ध्यानाकर्षण गराएको छ ।

प्रदेश २ का मुख्यमन्त्री लाल बाबु राउतको नेतृत्वमा सामाजिक विकास मन्त्री नवल किशोर साह र मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा सहितको टोलीले आज उपप्रधानमन्त्री इश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र श्रममन्त्री रामेश्वर रायसंग भेटगरी कोरोना भाइरस रोकथामका लागि विशेष प्याकेज ल्याउन आग्रह गरेका हुन् ।

मुख्यमन्त्री राउत सहितको टोलीले प्रदेश २ अहिलेको अवस्थामा अति प्रभावित भएकोले तत्काल विशेष प्याकेज ल्याउन आग्रह गरे । त्यसैगरी, मुख्यमन्त्री राउतको टोलीले प्रशासन तथा सुरक्षा निकायलाई थप चुस्त दुरुस्त रुपले काम गर्नुपर्ने तथा सिमा क्षेत्रमा थप कडाई गर्नुपर्नेतिर विशेष ध्यान दिनुपर्नेप्रति चासो राखेको थियो ।

छलफलका क्रममा उपप्रधानमन्त्री पोखरेलले विरगंज नेशनल मेडिकल कलेजमा कोभिड उपचारका लागि ५०० वेडको आइसोलेसन वार्ड तुरन्त व्यवस्थापन गर्नेगरी संघीय सरकारबाट निर्णय गरिने सुनिश्चित गराए । उक्त क्रममा तत्काल ५० हजार भिटिएम रिएजेन्टको उपलब्धता तथा पिसिआर परिक्षणका लागि दुई वटा आर एन ए मेसिन उपलब्ध गराउने बारे समेत छलफल भएको छ ।

मुख्यमन्त्री राउतले प्रदेश २ मा रहेका गम्भिर विरामीलाई तत्काल काठमाडौं ल्याउने गरी हेलिकप्टर स्टाण्डबाई राख्न तथा प्रदेश २ मा कोरोना उपचार सम्बन्धमा कुनै कमि हुन नदिन माग समेत गरे । प्रदेश २ मा चिकित्सकहरुको विशेषज्ञ टोली तत्काल पठाउनुपर्ने तथा सबै निजी अस्पतालहरुमा कम्तिमा २० प्रतिशत आइसोलेसन वेड उपलब्ध गराउन समेत ध्यानाकर्षण गराएको छ ।

त्यसैगरी, नारायणी अस्पताललाई सामान्य अस्पतालको रुपमा राख्ने तथा विरामी भर्ना एवं उपचारमा लापरवाही गर्ने नीजि अस्पताललाई कारवाही गर्ने विषयमा समेत सहमति जुटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय