राष्ट्रिय

बालविवाह विरुद्धको बृहत अभियान सम्पन्न

By हाम्रो जनकपुर डेस्क

October 07, 2024

गणेश कुमार सिंह,महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका को वडा नं. ५ मा पहिलो बालविवाह विरुद्धको बृहत अभियान सम्पन्न भएका छन् ।

रतौली युवा क्लब , सेभ द चिल्ड्रेन र वडा नं ५ को सहकार्यमा आयोजित ‘बालविवाह विरुद्ध वृहत्त अभियान’ कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुहुँदै वडाअध्यक्ष कृष्ण महोन शर्माले वडाक्षेत्रका सम्पूर्ण अभिभावकलाई आ–आफ्ना बालबालिकाहरुलाई २० वर्षपछि मात्रै विहेबारी गर्न अनुरोध गर्नुभयो । वडा अध्यक्ष शर्माले वडाभित्रका सम्पूर्ण बालबालिका, किशोरकिशोरी र युवायुवतिहरुलाई आफ्नो शरीर, स्वास्थ्य र भविष्यको खयाल गर्दै २० वर्ष नपुगुञ्जेलविहेवारी नगर्न सल्लाह दिनुभयो । अध्यक्ष शर्माले सोही कार्यक्रममा ‘बालविवाह मुक्त वडा घोषणा कार्यविधि अनिसार प्रेस विज्ञप्ति ’ सार्वजनिक गर्दै आउँदो कार्तिक मसान्त २०८१ भित्र नै जलेश्वर न.पा.को पहिलो बाल विवाह मुक्त वडा घोषण गर्ने प्रतिबद्धता पनि प्रकट गर्नुभयो ।

जनसंख्याको चाप पनि ७ वटै प्रदेश मध्ये मधेश प्रदेश जनसंख्याको हिसाबले दोस्रो र बाल विवाह बढी हुने प्रदेशमा पनि दोस्रो नै पर्दछ । बालबालिकालाई समृद्ध जीवन जीउन सक्षम बनाउन उनीहरुको अधिकार तथा संरक्षण सुनिश्चित गर्न नेपालको संविधानले नै व्यवस्था गरेको छ । यद्यपि व्यवहारमा बाल विवाह जस्ता सामाजिक हानीकारक अभ्यासले जरो गाडेको छ । नेपालको कानून अनुसार २० वर्ष भन्दा मुनि गरिएको बिवाहलाई बाल विवाह भनिएको छ । बाल विवाह गर्दा शिक्षाबाट बञ्चित हुन पर्ने, शारीरिक तथा मानसिक रोग तथा स्वास्थ्यमा समस्या भोग्नु पर्ने र गरिब परिवारमा फेरी गरिबी दोहोरी रहने भएकाले बाल विवाह गर्नु भनेको आफैले आफैलाई पछाडीतीर धकेल्नु हो ।

बाल विवाह कानूनी रुपमा अपराध हो । बालबालिका सम्बन्धि ऐन २०७५ को दफा ७२ को उपदफा ३ को खण्ड “ख” बमोजिम बालबालिकाको विवाह तय गर्ने वा बालबालिकासँग विवाह गर्ने वा बालबालिकासँग विवाह गराउने कार्यलाई बालबालिका बिरुद्धको हिंसा गरेको ठहर गरी सो कसुर वा हिंसा गर्ने, तय गर्ने तथा गराउनेलाई ७५००० रुपैयाँसम्म जरिवाना र तीन वर्षसम्म कैद सजाय हुने व्यवस्था गरिएको छ । तसर्थ म वडाबासीलाई बालबालिका विरुद्धको यस्तो हिंसा वा कसुर नगरी सजाय तथा दण्डबाट बच्नु हुन अनुरोध गर्दै, सेभ द चिल्ड्रेनका प्रतिनिधि रूपमा आउनु भएका मकर बहादुर सार्की ले बताए ।

शर्माले जलेश्वर नगरपालिकाका वडा नं ५ लाई बालविवाह मुक्त वडा घोषणा गर्न विभिन्न सूचकहरु पार गरिसकेको कारण आउने कार्तिक मसान्तमा वडा नम्बर ५ लाई बालविवाह मुक्त वडा घोषणा गर्न गइरहेको समेत जानकारी गराउनुभयो । श्री माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरेको ‘बालविवाह विरुद्ध वृहत्त अभियान’ कार्यक्रममा सहभागीहरु प्रतिबद्धता पत्र मा समेत हस्ताक्षर गरेका थिए ।

कार्यक्रममा वडाबाट अभिभावक,विद्यालय प्र. बाल क्लबका बालबालिकाहरु,वडा बाल अधिकार समितीका सदस्य,किशोर किशोरी र युवायुवतिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

साथै रतौली युवा क्लवका कार्यक्रम संयोजक पुजनारायण साह , सेभ द चिल्ड्रेनका प्रतिनिधि रूपमा मकर बहादुर सार्की र संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता वडा नम्बर ५ का वडा अध्यक्ष कृष्ण मोहन शर्माले गर्नुभएको थियो ।