प्रदेश २

नेपाललाई केक बनाई काटीखाने देशभक्त हाेइन देशद्रोही हुन्

By हाम्रो जनकपुर डेस्क

February 25, 2020

काठमाडौं । खाली समृद्धिको मात्र भाषण गर्ने तर भित्रभित्र ठूलाठूला भ्रष्टाचार र कमिसनलाई संरक्षण दिने प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अहिले प्रतिपक्ष दलकाले मात्र नभएर स्वयं उनकै पार्टीका कार्यकर्ताहरुले समेत आलोचना गर्न थालेका छन् ।

७० करोड कमिसन सेटिङ काण्डमा तत्कालिन सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटामाथि छानबिन गर्न अस्वीकार गरेका नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आइतबार तेह्रथुमको आठराईस्थित आफ्नै जन्मघरमा भब्यताका साथ ‘वर्थडे’ मनाए ।

आफूलाई नेपालको कम्युनिष्ट कार्यकर्ता भनाएर पश्चिमी संस्कृति शैलीको केक काटेकामा मात्र हैन, उत्पीडित उपेक्षित जातीय सांस्कृतिक समुदायलाई पहिचान र समान अधिकार दिनै नचाहने प्रधानमन्त्री ओलीले नेपालको मानचित्र भएको केक काटेर खाएकामा कडा आलोचना खेप्दैछन् ।

ओलीको यो कार्यशैलीलाई पहिचानसहितको संघीयता पक्षधरहरुले भिन्न तरिकाले आलोचना गरिरहेका छन् ।

फेसबुकमा तस्बिर राख्दै झिलकुमार राई लेख्छन्, ‘मधेसी, थारु, आदिवासीले देशभित्र अधिकार माग्दा देश नै टुक्रयाउन खोजियो, राष्ट्रद्रोही, बिखण्डनकारी हुने अनि ओलीले देशको नक्सा बनाएर काटी खाँदा राष्ट्रवादी हुने ? ओली प्रवृतिले देश यसरी नै खाइसकेको छ । त्यसकै बिम्ब मात्र हो आजको तस्बिर ।’

प्रकाश चन्द्र परियारले प्रधानमन्त्री ओलीले नेपालकै नक्सा भएको केक काटेर खान कसरी सकेका होलान् ? भन्दै प्रश्न गरेका छन् ।

‘सम्माननीय प्रधानमन्त्री ओलीले मेरो जन्मदिनमा नेपालको नक्सा बनाएर केक ल्याउनु नभन्न सक्छन्,’ उनले लेखेका छन्, ‘तर जब नेपालको नक्सासहितको केक अघि आयो उनले कसरी चक्कु उठाउन सके ?’

अधिवक्ता किवाङ हाङ राईले नेपालको नक्सा बनाएर काटी खाने काम देशद्रोहीसरह नै भएको टिप्पणी गरेका छन् ।

‘नेपालको मानचित्रको केक बनाई काटी खाने काम देशद्रोही काम हो,’ उनले लेखेका छन्, ‘क–कसलाई मन पर्यो देशभक्त नेपाली हो बोल, देशभक्त जनता बोल । पार्टीका कार्यकर्ता नेताहरु त नेताभक्त र अवसरवादी मात्र देखिए । मलाई त मन परेन । पहिचानको आधारमा प्रदेशहरुको नामाकरण गरी नेपाल राष्ट्र निर्माण अभियान पूरा गरौ भन्ने कुरा नसुनेझैं गर्दै राजा महेन्द्रको एकल भाषा, धर्मको राज्यलाई निरन्तरता दिने अब आएर नेपाललाई केक बनाई काटी काटी खाने ? यो सिधै देशद्रोही काम हो ।’

नेकपाका कार्यकर्ता मिलन लिम्बुले प्रधानमन्त्री ओलीको वर्थडेको तस्बिर राख्दै भनेका छन्, ‘कम्युनिष्ट नेतृत्वको शैलीले नेपालमा कम्युनिष्टप्रति वितृष्ण पैदा हुँदा नेपाली कम्युनिष्ट आन्दोलनको विघटनको बाटो रोज्दैछ ।’