काठमाडौं, ९ फागुन । आकर्षक अवसर बन्दै आएको राष्ट्रसंघीय शान्ति मिसन बन्द भएसँगै राजीनामा दिने प्रहरीको संख्या बढेको छ ।

चालू आर्थिक वर्षको ६ महिनामै एक हजार दुई सय १० प्रहरीले राजीनामा दिएका छन् । औसतमा दैनिक आठ प्रहरीले राजीनामा दिने गरेका छन् । गत आर्थिक वर्षमा तीन हजार ७३ प्रहरीले राजीनामा दिएका थिए । मिसन जाने अवसर बन्द भएपछि खासगरी तल्लो तहका प्रहरीले पेन्सन अवधि पुगेलगत्तै राजीनामा दिने गरेका छन् । समग्र प्रहरीमै आकर्षण घटेको छ ।

नेपाल प्रहरीका दुईवटा फम्र्ड पुलिस युनिट (एफपियू) मिसन रहेकोमा एउटा बन्द भइसकेको छ भने अर्काे दुई महिनापछि बन्द हुँदै छ । हाइटीको मिसन गत वर्षदेखि बन्द भएकोमा सुडानस्थित मिसन पनि अप्रिलदेखि बन्द हुन लागेको हो । सुडानस्थित एफपियू मिसनमा हाल एसएसपीको कमान्डमा एक सय ८० जना प्रहरी कार्यरत छन् ।

राष्ट्रसंघले त्यसपछि सो मिसन बन्द हुने जानकारी अनौपचारिक रूपमा दिइसकेको छ । सोही कारण प्रहरीले मिसनका लागि छनोट गरेको छैन । एफपियू मिसनमा जाने प्रहरीले एक वर्षमा करिब १५ लाख रुपैयाँ कमाउँछन् । तल्लो तहका प्रहरीमाझ यस्तो मिसनलाई ठूलो अवसरका रूपमा लिने गरिन्छ ।

पेन्सन लिने र अर्काे काममा आबद्ध हुने प्रवृत्ति बढेपछि राजीनामा रोक्न मुख्यालयले रणनीति बनाइरहेको छ । राजीनामा दिने बढ्दै गएपछि प्रहरी मुख्यालयले राजीनामा स्वीकृतिमा कडाइसमेत गरेको छ । सुविधाहरू रोकिने गलत हल्लाले राजीनामा बढकाले त्यसबारे प्रस्ट समेत पारेको छ ।

राजीनामाको एउटा कारण शान्ति मिसनको अवसर कम हुनु पनि भएको प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली बताउँछन् । राजीनामा घटाउन सुविधा थपबारे छलफल भइरहेको उनले बताए । प्रहरीले माली, कंगोजस्ता देशमा एफपियू राख्नका लागि प्रयास गर्दै आएको छ । चार वर्षअघि राष्ट्रसंघले नेपाल प्रहरीलाई एक एफपियू दिने बताए पनि बन्दोबस्तीका सामान खरिद गर्न नसक्दा मिसन गुमेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय