प्रदेश–२ ले नामकरण गर्न सकेको छैन। जनकपुरलाई स्थायी राजधानी तोक्न दलहरुबीच सर्वसम्मति भए पनि नामकरण विवाद सुल्झन सकेको छैन।प्रदेश सरकार कार्यान्वयनमा आएको ३ फागुनमा तीन वर्ष पूरा हुँदैछ।

सत्तापक्ष र प्रतिपक्षी दल आ–आफ्नो अडानमा कायम रहेकोले प्रदेश नामकरणमा सहमति जुट्न नसकेको हो। तर अहिले आएर स्थायी राजधानीझैं प्रदेश नामकरणमा समेत सहमति जुटाउन प्रतिपक्षी दलहरु लचक देखिएका छन्।

प्रदेशको स्थायी राजधानी र नामकरणमा सहमति जुटाउन सभामुख सरोज यादवको नेतृत्वमा बसेको संसदीय समितिको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेसले आ–आफ्नो अडानबाट पछि हट्दै सहमतिको नयाँ विकल्प प्रस्तुत गरेका छन्।

समितिको बैठकमा नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले दर्ता गराएको प्रस्तावबाट पछि हट्दै ‘जानकी–मधेस’ नामकरण गर्न विकल्प अघि सारेका छन्। यसअघि नेकपाले प्रदेशको नाम ‘जानकी’ हुनुपर्ने भन्दै प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएको छ।

यसैगरी नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवले ‘मिथिला–मधेस’ नामकरण गर्न विकल्प दिएका छन्। प्रदेशसभा सचिवालयमा कांग्रेसले प्रदेशको नामकरणबारे ‘मिथिला–भोजपुरा’ प्रस्ताव दर्ता गराएको छ।

दलगत अडानबाट पछि हटेर सत्तापक्ष र प्रतिपक्ष दुवैको जित हुनेगरी आफूहरुले विकल्प दिएको नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले बताए। ‘राजधानीझैं नामकरणमा पनि सर्वसम्मति होस् भन्ने हाम्रो चाहना छ, यसैले दलगत अडानबाट पछि हटेर नयाँ विकल्प अगाडि सारेका छौं । तर सत्ता पक्षधर समाजवादी र राजपा आफ्नो अडानबाट पछि हट्न चाहेको छैन,’ उनले भने।

नामकरणबारे सहमति जुटाउन समितिको बैठक आगामी फागुन ४ गते बोलाइएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय