हाम्रो जनकपुर : महोत्तरीमा माछा मार्ने क्रममा नेपाली सीमामा रहेको खाल्डोबाट बुद्धको मूर्ति भेटाएका युवकलाई भारतीय सुरक्षाकर्मी एसएसबीले नेपाल प्रवेश गरेर नियन्त्रणमा लिएका छन् ।

बुधबार महोत्तरीको मनरासिसबा नगरपालिका ९ बथनाहाका बलिन्द्र सादाले फेला परेको मूर्ति घर ल्याएपछि गाउँभरि हल्ला फैलिएको थियो ।

हल्ला फैलिएपछि सहश्राम क्याम्पमा रहेका भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरी बलिन्द्रलाई भारतबाट मूर्ति चोरेर ल्याएको भन्दै कुटपिट गर्दै घरबाटै नियन्त्रणमा लिएर गएको थियो । नेपालीलाई भारतीय सुरक्षाकर्मीले सीमा प्रवेश गरी नियन्त्रणमा लिएको हल्ला फैलिएपछि स्थानीय प्रशासनले उनको रिहाइका लागि पहल थालेको छ ।

महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले मूर्ति भेटाएका नेपालीलाई भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको कुरा थाहा पाए लगतै उनको रिहाईको पहल थालेको जानकारी दिए । भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा रहेका युवाले भारतबाट मूर्ति चोरेर लगेको आरोपमा सोधपुछका लागि नियन्त्रणमा लिएको भारतीय सुरक्षाकर्मीको बयानलाई उदृत गर्दै सापकोटाले बताए ।

‘सोधपुछपछि रिहा गर्ने प्रतिबद्धता समेत भारतीय सुरक्षाकर्मीबाट आएको छ । यदि रिहा नगरिए उसको सुरक्षाको लागि आगामी चाल्‍नु पर्ने कदम चाल्छौ,’ उनले भने ।

स्थानीयका अनुसार बलिन्द्रले गाउँ नजिकै सीमा क्षेत्रभन्दा एक डेढ मीटरभित्र नेपाली भूमिमा रहेको खाल्डोमा माछा मार्ने क्रममा मूर्ति फेला परेको हो । मूर्ति फेला परेको केही समयपछि भारतीय सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिएर गएको हो ।

नेपाल प्रवेश गरी सदालाई नियन्त्रणमा लिएको हो नि ? भन्ने प्रश्नमा एसपी सापकोटाले भने ‘हामीले पनि त्यही जानकारी पाएका थियौँ, तर एसएसबीका पदाधिकारीसँग कुरा गर्दा सीमा पार नगरी ती युवकलाई भारतीय भूमिबाट नै सामान्य सोधपुछका लागि नियन्त्रणमा लिएको उनीहरुको दाबी छ । हामी सत्य तथ्य बुझ्न अनुसन्धानमा जुटेका छौं ।’

अहिले मूर्ति बलिन्द्रकै घरमा छ, त्यहाँ स्थानीय बीओपीको सुरक्षाकर्मी मूर्तिका सुरक्षाका लागि राखिसकिएको छ । यता, स्थानीयवासीले बलिन्द्र निशर्त तत्काल नगरे भारत विरुद्ध कडा संघर्ष गर्ने चेतावनी दिए । टुडेपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय