• इश्वर बिश्वकर्मा

चरिकोट, कार्तिक २७ । तिहार नजिकिँदै गर्दा एकसाता अघिबाटै दोलखाका आमा समुह, युवा क्लब, सांस्कृतिक समुह र सर्वसाधारणले नाचगान सहित देउसीभैलोको तयारीमा जुट्थे ।

तयारी पुरा भएपछि तिहारको पहिलो दिनबाटै मौलिक बाजा र भेषभूषा सहित देउसी भैलोको कार्यक्रम लिएर देउसेभैले गाउँसहरका घरघरमा पुग्दथे, अनि रौनक र उत्साहका साथ देउसीभैलो खेल्दथे ।

बर्ष दिनमा एकपटक आउने चाड भएकोले देउसी भैलो खेल्न आएको भन्दै खुसी र रोमाञ्चित हुदैं घरघरबाट देउसेभैलेलाई दानदक्षिणा प्रदान गरिन्थ्यो ।
देउसीभैलो खेल्ने समुहले एकआपसमा दक्षिणा बाँड्थे । तर धेरै जसो समुहले देउसी भैलो खेलेर संकलित रकमले बाटो खन्ने, विद्यालय तथा मन्दिर मर्मत सम्भार गर्ने, विपन्न वा रोगी व्यक्ति परिवारलाई सहयोग गर्ने लगायतका सामाजिक काम गर्दथे ।
गत वर्ष यस्तै सामाजिक काम र मौलिक संस्कृतिको संरक्षण लागि लाली गुराँस युवा क्लबले चरिकोट बजारको विभिन्न स्थानमा आध्यात्मिक भजनसहित देउसी भैलो कार्यक्रम गरेको थियो ।

सदरमुकाम चरिकोटमा रहेको सातदोबाटो चोकमा जिज्ञासा दोलखाको आयोजनामा गत बर्ष जिल्लामै पहिलोपटक स्थानीय तहका जनप्रतिनिधि, पत्रकारसँगै ट्राफिक प्रहरी, ज्येष्ठ नागरिकहरुसँग खबरदारी मुलक तन्नेरी देउसी भैलो खेलेका थिए ।

उनिहरुले समाजमा घटिरहेको यथार्थपरक घटनालाई चित्रण गर्दै व्यङग्यात्मक शैलिमा देउसी भैलो खेलेका थिए । त्यस्तै दोलखा डान्स क्रुले पनि नाचगान सहित देउसीभैलोको कार्यक्रम गरेको थियो । यस्तै जिल्लाका विभिन्न स्थानमा सामुहिक रुपमा देउसीभैलो खेलिन्थे । खैंजडी र भजनकिर्तन सहित युवाले झैं रोमाञ्चित हुदैं छमछम नाच्दै जेष्ठ नागरिकले देउसी भैलो खेल्दा तिहारको छुट्टै रौनक र उत्साह मिल्थ्यो । त्यस्तै बालबालिकाले जानीनजानी दक्षिणका लागि देउसीभैलो खेल्थे । अनि युवा पुस्ताको नाचगान सहित देउसीभैलो देख्न पाइन्थ्यो । संस्कृतिलाई संरक्षण र संवद्र्धनका लागि देउसी भैलो खेल्ने गरिएको छ । तर यो बर्ष तिहार सुरु भएपनि कुनै पनि समुहले देउसी भैलोको तयारी गरेका छैनन् । नत उनिहरुले देउसी भैलो खेल्ने योजना नै बनाएका छन् । विश्वव्यापी बनेको कोरोना भाइरसले यतिबेला गाउँसहर जताततै जोखिम बढाएको छ ।
जसले गर्दा यस बर्षको तिहारमा देउसी भैलो खेल्न सम्भव छैन् । प्रशासनले पनि देउसी भैलो तथा भिडभाड हुने क्रियाकलाप गर्न प्रतिबन्ध लगाएको छ । कोरोना संक्रमित दिनानुदिन बढ्दै गएको बेला थप मानिसमा संक्रमण नहोस् भन्दै रोकथाम र नियन्त्रणका लागि देउसी भैलो खेल्न पुर्ण रुपमा प्रतिबन्ध लगाइएको हो ।
जिल्ला प्रशासन कार्यालय दोलखाले बुधबार एक सुचना जारी गर्दै तिहारमा देउसी भैलो, नाचगान तथा भीडभाड हुने क्रियाकलाप गर्न पुर्ण निषेध गरिएको जनाएको छ ।
तिहारमा देउसी भैलो खेल्ने नाचगान गर्ने परम्परा रहेको छ । यो तिहारको सांस्कृतिक पक्ष पनि हो । तर कोरोना भाइरस अर्थात् कोभिड १९ को संक्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि देउसी भैलो खेल्न पुर्ण निषेध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी औलख बहादुर आलेले बताए ।
पटका पड्काउने, जुवातास खेल्ने जस्ता गैरकानुनी क्रियाकलापहरु नगर्न नगराउन समेत अनुरोध गरिएको छ। प्रशासनको निर्देशनको उल्लघंन गरिएको पाइएमा त्यस्ता कार्य गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर कानुन बमोजिम कडा कारवाहि गरिने सहायक प्रमुख जिल्ला अधिकारी आलेले बताए ।
यस वर्ष भने घरमै बसी स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउदैं कोरोनाबाट जोगिएर रमाउँदै चाडपर्व मनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय