काठमाडाैँ, कार्तिक १७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्सा जिल्ला सदस्य मुकेश चौरसियाको हत्या अभियाेगमा विन्दवासीनी गाउँपालिका ४ मधवल बस्ने निरन्जन तिवारीलाई भारतबाट पक्राउ गरिएकाे छ।

प्रहरीका अनुसार उक्त घटनामा घाइते भई अस्पतालमा उपचारार्थ अवस्थमै रहेका उनी उपचाररत चौरसियाको मृत्युको खबर थाहा पाएलगत्तै नेसनल मेडिकल कलेजको आईसीयूबाट भागेर भारत पुगेका थिए। उनलाई त्यहीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीसँगै उनका भाइ चिन्टु तिवारी पनि फरार भएका थिए।

गत कार्तिक ६ गते जिल्ला पर्सा विन्दवासिनी गाउँपालिका ५ प्रसौनी गाँउस्थित सेलर मिलको भवनमा नेकपाको कमिटिद्वारा पार्टी प्रवेश गरेको व्यक्तिहरुलाई सपथ ग्रहण गराउने क्रममा कार्यक्रमस्थल बाहिर दुई पक्षबीच झडप हुँदा उनी घाइते भएका थिए।

बाँस र भाठाले एक अर्कालाई प्रहार गर्ने क्रममा घाइते भएका ३४ वर्षको चौरसियाको उपचारको क्रममा न्यूरो अस्पतालमा मृत्यु भएको थियो। चौरसियाको हत्याको आरोपमा पर्सा प्रहरीमा पर्सा क्षेत्र नं ३ का पूर्व सभासद राजकुमार गुप्तासहित १२ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।

पर्सा प्रहरीमा पूर्व सभासद राजकुमार गुप्तासँगै देवा सहनी, हनिफ मिया, अखिलेश चौरसिया, लक्षण चौरसिया, सन्जय चौहान, वकिल मिया, धीरज चौरसिया, चिन्टु तिवारी, उत्तम तिवारी, जनार्दन चौहानलगायत १२ जनाविरुद्ध जाहेरी दर्ता भएको हो। उनीहरुविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा कर्तव्य ज्यान मुद्दा दर्ता भएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय