जनकपुरधाम । कलेज प्रशासनविरुद्ध कर्मचारीद्वय जानकी शरण यादव र कुलदिप साह आजदेखि आमरन अनसन शुरु गरेको कर्मचारी हकहित संरक्षण संघर्ष समितका संयोजक उमेश यादवले जानकारी दिए ।

कलेज व्यवस्थापनले विगतमा गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालका दुई जना कर्मचारी आज (आईतबार)देखि आमरन अनसनमा बसेका छन् ।

यसअघि कलेज प्रशासनले विगतमा गरेका सम्झौताहरु कार्यान्वयन नगरेको भन्दै कर्मचारीहरुले आकस्मिक बाहेकका सबै सेवाहरु ग्त असोज १२ गतेदेखि नै ठप्प गरेका छन् । उनीहरुले कलेजले आफुहरुको विगत ६ वर्षदेखिको सञ्चय कोष, पाँच वर्षको दशैं खर्च र नियमित तलब भत्ता दिनुपर्नेलगायतका मागहरु राख्दै विगत एक महिनादेखि धर्ना समेत दिएका थिए ।

विगतमा पटक–पटक गरेका सहमतिहरु अस्पताल पक्षले कार्यान्वयन नगरी उल्टै प्रहरी प्रशासन लगाएर आफुहरुलाई धम्काउने गरेकाले बाध्य भएर आन्दोलनमा उत्रनु परेको संयोजक यादवले बताए ।

यसअघि भदौ १५ गते उनीहरुले कलेजको शैक्षिक प्रशासनमा तालाबन्दी समेत गरेका थिए । भदौ २६ गते मेडिकल प्रशासनका वरिष्ठ अधिकृत दयानन्द झाले कर्मचारीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएपछि ३१ गते दुबैपक्षबिच छलफल भई ३ बुँदे सहमति भएको थियो । सहमति अनुसार असोज १ गतेदेखि कलेजको ताला खोली सेवा सूचारु गर्ने, असोज ४ गते हरहिसाब गर्ने र असोज ३० भित्र कर्मचारीको सबै समस्या समाधान गर्ने गरि कलेज प्रशासन र कर्मचारीले सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।

तर, सहमति अनुसार कार्यान्वयन गर्नुपर्नेमा कलेज प्रशासनले हरहिसाब नै नगरी उल्टै असोज ११ गते संघर्ष समितिका संयोजक यादवलाई पूर्वाग्रही तरिकाले स्पष्टीकरण सोधेपछि १२ गतेदेखि जानकी मेडिकल कलेज शिक्षण अस्पताल रमदैयाका १ सय १५ जना कर्मचारी आकस्मिक बाहेकका सबै सेवा बन्द गरी निरन्तर धर्नामा बस्दै आएका थिए ।

बक्यौता रकम तिर्नुको साटो कलेज व्यवस्थापकले धर्नामा बसेका ४० जना कर्मचारीमध्ये ५ जनालाई निलम्बनको पत्र थमाएका छन् भने केहीलाई स्पष्टीकरण समेत सोधेको छ । दशैँ अवधिभरिमा कलेज व्यवस्थापकले आन्दोलनलाई दवाउनका लागि आन्दोलनरत कर्मचारी मध्ये कुलदिप साह, जयकुमार यादव, राजनारायण यादव र अञ्जु पटेल लगायतका कर्मचारीलाई समेत कारवाही स्वरुप निलम्बन गरेको संघर्ष समितिका संयोजक यादवले बताए ।

यता, कलेजका प्रमुख प्रशासक दयानन्द झाले कर्मचारीहरुले जर्वजस्ती आन्दोलन गरेर कलेजलाई धरासायी बनाउदैँ लगेको आरोप लगाएका छन् । उनले भने,‘कर्मचारीहरुको राजनीतिले गर्दा कलेज धारासायी हुने अवस्थामा पुगेको छ । आन्दोलनका कारण कलेजको कामकाज प्रभावित हुँदै गएपछि विद्यार्थीबाट असुल हुने २७ करोड रुपैयाँ समेत असुल हुन सकेको छैन् ।’

कर्मचारीहरु अनावश्यक माग राख्दै आन्दोलनमा उत्रेपछि विरामीको उपचार र अनलाइन कक्षा समेत ठप्प भएको कलेज प्रशासनको आरोप छ । सन् २००३ मा शिक्षण अस्पतालको रुपमा मान्यता पाएको जानकी मेडिकल कलेज शिक्षण अस्पताल पटक पटक विवादित हुदै पुनः ठप्प भएको छ । डेढ अर्ब रुपैयाँ ऋण भारमा रहेको कलेजले लकडाउन शुरु भएदेखि मासिक डेढ करोड रुपैयाँ क्षति व्यहोर्दै आएको अवस्थामा पनि कर्मचारीहरुको हकहितमा सोच्दै तलब भत्ता नियमित रुपमा दिँदै आएको प्रमुख प्रशासक झाले दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय