सिरहा, जेठ १८ । सिरहामा विवाहको तीन दिन अघि बुवा र छोराको हत्या भएको घटनामा तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मृतकका साईली बुहारी अर्नामा गाउँपालिका घर भई गोलबजार नगरपालिका–४ मा बस्दै आएकी २६ वर्षीया शान्तिदेवी पाल, गोलबजार–४ का ६५ वर्षीय बेचु पाल र अर्नामा–१ महनौरका ४८ वर्षीय जनिफ मियाँ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

जेठ ८ गते अर्नामा गाउँपालिका–१ महनौर स्थित पाल टोलमा स्थानीय ६० वर्षीय लुचाई भन्ने चन्देश्वर पाल र उनको १९ वर्षीय छोरा सन्त कुमार पालको विभत्स रुपमा हत्या गरिएको अवस्थामा घरमै शव फेला परेको थियो ।

सन्तको विवाह जेठ ११ गतेका लागि तय भएकोमा गाउँकी स्थानीय महिलाहरु गीता गाएर गइसकेपछि छुट्टा छुट्टै कोठामा सुतेका बुवा छोराको टाउको, गर्दन, ढाड लगायतमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।यस घटनामा प्रहरीले अनुसन्धान गर्दै जाँदा दाइजोको रिसिईवी र पारिवारिक विवादको कारण बुवा र छोराको हत्या भएको खुलेको छ ।

सन्तको विवाह जेठ ११ गतेका लागि मोरगं जिल्लाकी युवतीसँग तय भएको थियो । दाइजोमा उनलाई केटी पक्षले १ लाख नगद, एउटा मोटरसाईकल तथा ८ आना सुन दिने सहमति गरेका थिए । तर सन्तसँग विवाह तय हुनुभन्दा पूर्व युवतीको विवाह गोलबजार बस्ने बेचु पालको छोरा प्रदिप पालसँग तय भएको थियो । केटी पक्षले उनलाई दाइजोमा बिराटनगरमा घडेरी दिने, उक्त घडेरीमा घर बनाईदिने र केटालाई ब्यापार ब्याबसाय गर्नका लागि लगानी पनि गरिदिने सहमति भएको थियो । तर पछि बेचुका छोरा प्रदीपले युवतीको पहिला पनि विवाह भएको जानकारी पाएपछि उनले विवाह नगर्ने बताएका थिए ।

प्रदीपका बुवा बेचुले केटी पक्षले बढी दाइजो दिइरहेकाले विवाह गर्न दवाव दिइरहेका थिए । यता युवतीको विवाह कम दहेजमै सन्तसँग तय भएपछि बेचुलाई मृतकको परिवारसँग रिसिईवी भएको अनुसन्धानबाट खुलेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।

यस्तै मृतक चन्देश्वरको साईलो छोरा बैदेशिक रोजगारमा थिए भने उनको श्रीमती शान्तिदेवी पाल गोलबजारमा कोठा लिएर बस्दै आएकी थिइन् । उनको सासु ससुरा सँग भने राम्रो सम्बन्ध थिएन् । देवरको विवाहमा समेत उनलाई नआउनका लागि भनिएको थियो । उनका सासु सुराले तिमी आउनु पर्दैन, तिम्रो चरित्र राम्रो छैन, तिमी बिहेमा आयौ भने छिमेकीहरु हाम्रो घरमा आउँदैनन् त्यसैले तिमी बिहेमा नआउनु तिम्रो बच्चाहरुलाई मात्र पठाउनु भनेका थिए । शान्तिलाई चन्द्रदेवले अंश नदिएको, खर्च पनि नदिने र माईतीबाट ल्याएको चाँदीको गरगहना समेत नदिएपछि शान्तिलाई आफ्नो परिवारसँग रिसिईवी बढेको थियो ।

जेठको पहिलो साता गोलबजारमा शान्तिदेवी र उनको श्रीमान बैदेशिक रोजगारमा गएपछि शान्तिलाई रेखदेखको जिम्मा दिएको जनिफ मियाँ कुरा गरिरहेको समय उनीहरुको चिन्जानकै रहेका बेचु त्यहाँ पुगेपछि हत्या गर्ने योजना बनाएका थिए । मियाँले शान्तिको सासु ससुराले धेरै दुख दिएकाले यिनिहरुलाई शान्तिको बाटोबाट हटाउनुपर्छ र यसका लागि शान्तिले ५० हजार दिने भनेपछि बेचुले समेत आफ्नो रिसिईबीका कारण हत्या गर्ने योजनामा सहमति जनाएका थिए ।

तीनैजनाले हत्या गर्नका लागि मियाँले बन्चरो ल्याउने र बेचुले खुकुरी लिएर जाने योजना बनाएका थिए ।
शनिबार साँझ बेचु गोलबजारबाट पैदल हिडेर मियाँसँग भेट हुने स्थानमा पुगेका थिए तर मियाँ नआएपछि घटनास्थलको पुर्वपट्टीको राजदेवी मन्दिरमा गएर केही समय आराम गरेर मृतकको घरमा गीत बज्न बन्दभएपछि बाहिर गोठमा सुतेको चन्द्रेश्वरलाई पहिले र त्यसपछि सन्तलाई हत्या गरी कोठाहरुमा बाहिरबाट चुकुल लगाई मन्दिर तर्फ फर्केका थिए ।

बेचु मन्दिरमा गएर हातमुख राम्रो सँग धोएर र बालुवाले घोटेर खुकुरी पखालेर पुनः पैदश घरमै फर्केको प्रहरी अनुसन्धानबाट खुलेको हो । यस घटनामा अनुसन्धान गर्दै जाँदा तीनैजनालाई पक्राउ गरिएको हो । यस घटनाको अनुसन्धान गर्नका लागि संघिय प्रहरी ईकाई जनकपुर, जिल्ला प्रहरी कार्यालय सिरहाको अनुसन्धान टोली र के लालगढको तालिम प्राप्त कुकुर सहितको टोलीले अनुसन्धान गरेपछि तीनैजनालाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय