धर्मेन्द्र प्रसाद यादव ,वीरगंज ३१ जेठ — उपचारको क्रममा शुक्रबार वीरगन्ज हेल्थ केयर हस्पिटलमा मृत्यु भएका ५ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्थायी कोभिड अस्पतालका कोर्डिनेटर डा.उदयनारायण सिंहका अनुसार शुक्रबार अपरान्ह स्वाब लिइएको ती बालकको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ ।

बाराको निजगढ नगरपालिका–६ योजनाटोल निवासी ती बालकलाई शुक्रबार बिहान ११ बजेतिर वीरगन्ज हेल्थ केयर हस्पिटलमा ल्याइएको थियो । ‘बालकमा निमोनिया र ज्वरो देखिएपछि आकस्मिक कक्षमै आरडीटी परिक्षण गरिएको थियो,’ हेल्थ केयर अस्पतालका सञ्चालक डा.अबुल हैस अन्सारीले भने, ‘आरडीटी पोजिटिभ आएपछि उनलाई आइसोलेसन वार्डमा सारेर नारायणी अस्पतालको टोली बोलाइएको थियो । नारायणीको टोलीले गरेको आरडीटी परीक्षण पनि पोजिटिभ आएपछि थ्रोट स्वाब संकलन गरिएको थियो ।’

डा. अन्सारीका अनुसार करिब २ बजे स्वास्थ्य अवस्था खराब भएपछि बालकलाई भेन्टिलेटरमा राखिएको थियो । अस्पतालका सञ्चालक डा. अन्सारीले भने, ‘साढे ४ बजे उनको मृत्यु भयो ।’

बालकलाई उनका आमाबुबाले अस्पताल लिएर आएका थिए । निजगढको सामुदायिक अस्पतालबाट ती बालकलाई वीरगन्ज रिफर गरिएको थियो । डा.उदयनारायण सिंहका अनुसार बालकको परिवारको यात्रा विवरण पनि बाहिरबाट आएको देखिएको छैन । डा.सिंहले भने, ‘कहिलेकाहीँ बजार बाहेक बाहिर गएका छैनन्, यसअघि निजगढमा कोरोना संक्रमणसमेत देखिएको छैन ।

बालकको उपचारमा संलग्न सामुदायिक अस्पताल निजगढ र वीरगन्ज हेल्थ केयर हस्पिटलका स्वास्थ्यकर्मी र चिकित्सकको पनि स्वाब परीक्षण गरिने उनले बताए । परिवारिक सदस्यको पनि कन्ट्याक्ट ट्रेसिङको कार्य थालिएको डा. सिंहले जनाए । बालकको शव लिन बाराबाट सेनाको टोली आइपुगेको वीरगन्ज हेल्थ केयर हस्पिटलका सञ्चालक डा. अन्सारीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय