पक्राउ परेका रामबाबु यादव । फाइल तस्बिर

सिरहा । प्रहरी थुनामा रहेका मान्छे छुटाइ दिन्छु भन्दै पैसा असुल्ने नेपाली कांग्रेस सिरहा जिल्ला सदस्य रामबाबु यादव पक्राउ परेका छन्। उनलाई इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी सन्तुलाल जैसवालका प्रहरी टोलीले सिरहा सदरमुकामबाट पक्राउ गरेको हो।

गत १८ गते इलाका प्रहरी कार्यालय मिर्चैयाले जुवा खेल्ने आठ जनालाई होलिडे होटलबाट पक्राउ गरेको थियो। सोहीमध्ये सियाराम महतोलाई प्रहरीबाट छुटाइदिन्छु भन्दै ४ लाख रुपैयाँ कांग्रेस नेता यादवले सियारामको परिवारसँग लिएका थिए।

सिराहा नगरपालिका १५ सुखचैना घर भएका ४० वर्षीय यादवलाई एक लाख रुपैयासहित प्रहरीले पक्राउ गरेको हो । प्रहरी हिरासतमा रहेका अभियुक्तलाई रिहा गराइदिने भन्दै उनले ४ लाख ठगेको प्रहरीको दावी छ ।

पैसा तिरेर पनि मान्छे नछुटेपछि पीडित परिवारले प्रहरीलाई गुहारेका थिए। प्रहरीले मुद्दा मिलाउने नाममा पैसाअसुलेको थाहा पाएपछि नेता यादवलाई पक्राउ गरेको हो। उनीमाथि ठगी मुद्दा चलाइने प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी शालिग्राम शर्माले जानकारी गराए।

यता, नेपाली कांग्रेस जिल्ला सभापति रामचन्द्र यादवले पक्राउ परेका यादव जिल्ला सदस्य नभएर सहयोगी रहेको दाबी गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय