‘जय हो लकडाउन!’

यो लकडाउन मन परेर कसैले लगाएको नारा होइन। लकडाउनबा सास्ती पाएर फुरेको भोजपुरी गीत हो। कोरोना महामारी र लकडाउनले निम्त्याएको समस्या सम्बोधन गरेको यो गीतले विशेषगरी टिकटकमा चर्चा बटुलेको छ।

गीतले सुरूमै भन्छ-

किने खातिर रासन बजार गइनी

धरा गइनी पुलिससे पिटा के अइनी

गाँव से सहर सारा मचल बा कहर

सुनसान भइल सब टाउन…

खइला बिना भइल जात्रा, अँखिया बा राउन्ड

जय हो लकडाउन !

अर्थात्,

रासन किन्नका लागि बजार गएँ

प्रहरीले समातेपछि पिटाइ खाएर आएँ

गाउँदेखि सहरसम्म सारा कहर मच्चिएको छ

सिंगो सहर सुनसान भएको छ….

खान नपाएर जात्रा भयो, आँखै गोलो भइसक्यो..

जय हो लकडाउन!

धेरैलाई यो गीतका शब्द बुझ्न कठिन हुन्छ। तर गायन, संगीत र प्रस्तुति राम्रो भए कुनै गीत-संगीतको भाषा जे होस्, मुखमा झुन्डिन बेरै लाग्दैन।

‘जय हो लकडाउन’ धेरैहदसम्म यस्तै गीत बन्न सफल छ।

गीतको म्युजिक भिडिओमा टिकटकका हिट स्टार बिट्टु दास र अन्जली कर्णको अभिनय देख्न सकिन्छ। टिकटकमा गीत चल्नु पछाडिको कारण यिनै कलाकारको भूमिका पनि छ भन्दा खास फरक नपर्ला!

बिट्टुका टिकटकमा करिब सात लाख ७५ हजार फलोअर्स छन् भने अन्जलीका दुई लाख ३० हजार। भिडिओमा उनीहरूसँगै नीर सराफ र आनन्द चतुर्वेदीको पनि प्रस्तुति छ।

बायाँबाट क्रमशः बिट्टु दास, अन्जली कर्ण र नीर सराफ
बिट्टु र अन्जली टिकटकमा चर्चित छन् भने नीर मोडलिङ गर्छन्। उनले यसअघि केही म्युजिक भिडिओमा प्रस्तुति दिइसकेका छन्। त्यस्तै आनन्दको पनि म्युजिक भिडिओ र फिल्ममा अभिनय गरेको अनुभव छ।

भोजपुरी गीत भएका कारण म्युजिक भिडिओमा त्यही अनुरुप कलाकार प्रस्तुत हुनुपर्छ भन्ने लागेर यी चार कलाकार लिएको निर्देशक विकास प्रजापति बताउँछन्।

‘वीरगञ्जको स्थानीय परिवेशका कलाकार भए दर्शकलाई यथार्थपरक लाग्छ भन्ने हो। त्यसैले यहीँका कलाकारलाई प्राथमिकता दियौं,’ भिडिओका सिनेमाटोग्राफर समेत रहेका विकासले सेतोपाटीसँग भने।

वीरगञ्ज, घण्टाघर बाटो हुँदै दुई साथी साइकलमा हिँडेको देखाउँदै भिडिओ सुरू हुन्छ। उनीहरू लकडाउन उल्लंघन गर्दै घरका लागि रासन लिन बजार लागेका हुन्।

तर कोरोना भाइरस फैलावट नियन्त्रणका लागि जारी लकडाउनमा सर्व-साधारणलाई घर बाहिर निस्कन प्रतिबन्ध छ। प्रतिबन्ध बाबजुद बाहिर निस्कनेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। यस्तै परिदृश्य भिडिओमा देखाउन खोजिएको विकास बताउँछन्।

बजार निक्लेका ती दुई साथी पनि प्रहरीको लाठी कारवाहीमा पर्छन्।

अनि गायक चन्दन प्रजापतीको स्वरमा उनीहरू भन्न थाल्छन्- किने खातिर रासन बजार गइनी…जय हो लकडाउन!

गीतकार बलराम मिश्रको यो गीतले लकडाउनकै कारण गाउँ-सहर सबै सुनसान रहेको भाव व्यक्त गर्छ। हरेक हरफमा लकडाउनताका समाजमा भएका घटना चित्रण गर्ने प्रयास देखिएको छ। यस्तो विषम अवस्थामा पनि सरकारी तहबाट भाषण मात्रै चल्ने, ऋण लागेको दुःख, रासन नाममा दुई छाक पनि नपुग्ने चामल-पिठो दिने जस्ता अवस्था गीतले विषयवस्तु बनाएको छ।

‘गीतको मुख्य विषयवस्तु कोरोना भाइरस र लकडाउन नै हो। सामाजिक विषय मात्र नभइ गीतमार्फत हामीले सरोकारवालाको ध्यान पनि तान्न खोजेका छौं,’ विकास भन्छन्, ‘शब्द मात्र सुन्दा खरो लाग्ला। तर संगीत र भिडिओले गर्दा यो गीत मनोरञ्जन दिने खालको बनेको छ।’

गायक चन्दन प्रजापती (बायाँ) र निर्देशक विकास प्रजापती
विकासका अनुसार भोजपुरी गीतको भिडिओ निर्देशन गरेको यो उनको पहिलो अनुभव हो। उनलाई भिडिओ निर्देशनका लागि गायक चन्दन र गीतकार बलरामले सम्पर्क गरेका थिए।

‘हामीले सल्लाह गरेर गीत तयार गर्‍यौं अनि निर्देशनका लागि विकास प्रजापतिलाई भन्यौं,’ गायक चन्दनले सेतोपाटीसँग भने, ‘निर्देशनका लागि तयार भएलगत्तै सुटिङमा गयौं।’

विकासका अनुसार सुटिङ गर्न जम्मा तीन दिन लाग्यो।

तर छायांकन क्रममा पनि लकडाउनका कारण केही समस्या भोग्नु परेको निर्देशक विकास बताउँछन्।

‘सुटिङक्रम कतिपय ठाउँमा अनुमति थिएन। त्यही भएर जतिसक्दो चाँडो सुटिङ सकायौं,’ उनले भने, ‘हतार भएकै कारण प्रायः सिन एक-दुई टेकमै फाइनल गरेका हौं।’

गीतलाई गम्भीर भाका नदिई व्यङ्ग्यात्मक शैलीमा मनोरञ्जनात्मक बनाउनु पर्छ भन्ने टोलीलाई लागेको थियो। यसो हुँदा आलोचनाबाट समेत टाढै रहन सक्ने उनीहरूको सोच थियो। त्यसैले विषय गम्भीर भए पनि भिडिओ कमेडी बनाएको उनीहरू बताउँछन्।

गीतकार बलराम मिश्रले शब्द तयार पारेपछि स्वरका लागि उनले चन्दनलाई भनेका थिए। सुरूमा त चन्दनलाई ‘यो गीत गाउने र!’ जस्तो पनि भयो रे। तर पछि यसको शब्द आफैंलाई राम्रो लागेको बताउँछन्। यसमा संगीत विवेक परियारले दिएका छन्।

‘सामाजिक विषय र परिस्थितिबारे आवाज उठाउने खालको शब्द थियो। भोजपुरी गीतहरू अश्लील हुन्छन् भन्ने दर्शकका लागि समेत यो नौलो ढंगको गीत थियो। त्यसैले रेकर्डिङका लागि तयार भएँ,’ उनले भने।

भिडिओको सुरूमै प्रहरीले बजार हिँडेकालाई घर फर्काएको देखाइन्छ। यस्तोमा टोलीले सकारात्मक सन्देश दिन खोजेको बताउँछन्।

‘लकडाउनमा समेत प्रहरीहरू हाम्रो सुरक्षाका लागि दिन-रात बाहिर खटे। हामीलाई घरभित्र बस्न भन्दै आफूहरु बाहिरी दुनियाँसँग सम्पर्कमा रहे,’ गायक चन्दन भन्छन्, ‘जस्तो नजरबाट हेर्‍यो, त्यस्तै हुने हो। हामीले प्रहरीलाई सकारात्मक नजरले हेर्नुपर्छ भन्ने सन्देश दिन खोजेका छौं।’

https://youtu.be/LbbnSgbtCFM

गीतले यतिबेला सामाजिक सञ्जालहरूमा थुप्रै सकारात्मक प्रतिक्रिया बटुल्दैछ। गायक चन्दनका अनुसार उनीहरूलाई प्रहरी निकायबाट समेत सकारात्मक प्रतिक्रिया आएको छ।

‘नारायण डान्स एकेडेमी’ सञ्चालक एवम् कोरियोग्राफर राजन गिरीको कोरियोग्राफमा कलाकारहरूको नृत्य पनि भिडिओ सुहाउँदो र रमाइलो छ।

‘जय हो लकडाउन’ गीत असोज २ गते निर्देशक विकासको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो। भिडिओले हालसम्म १ लाखभन्दा बढी भ्यूज पाइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय