हाम्रो जनकपुर / रौतहट ।रौतहटको इलाका प्रहरी कार्यालय, गरुडाको थुनामा रहेका अभियुक्तलाई प्रहरीले यातना दिएको पाइएपछि जिल्ला प्रहरी प्रमुख एसपीको जिम्मेवारी खोसिएको छ ।
जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख एसपी रविराज खड्कालाई प्रहरी प्रधान कार्यालय, नक्सालमा तानिएको हो । उनको ठाउँमा एसपी सिद्धिविक्रम शाहको काज सरुवा गरिएको छ ।
गृह मन्त्रालयले गठन गरेको छानविन समितिको प्रारम्भिक अनुसन्धानले पनि प्रहरीले यातना दिएको देखाएको थियो । त्यसपछि प्रदेश नं. २ प्रहरी कार्यालयले प्रहरी निरीक्षक नविनकुमार सिंह, हवल्दार मुन्नाकुमार सिंह र फिरोज मियालाई निलम्बन गरिसकेको छ ।
निलम्बित तीनै जना प्रहरी जिल्ला प्रहरी कार्यालय, रौतहटमा कार्यरत थिए । प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतका अनुसार प्रकरणमा एसपी खड्काको कमाण्ड कमजोर देखिएकाले नेतृत्व परिवर्तन गरिएको हो ।
प्रहरी प्रधान कार्यालय, नक्सालले प्रकरण सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय, गरुडाका डीएसपी ज्ञानकुमार महतोलाई प्रदेश २ प्रहरी कार्यालयमा तानेर छानविन थालिएको थियो । हाल उनको ठाउँमा डीएसपी नरेन्द्र कुँवरलाई पठाइसकिएको छ ।

गरुडा नगरपालिका–८, जिगंडवाका २० वर्षीय निरन्जन रामको हत्या गरेको अभियोगमा विजय महरालाई साउन ३२ गते प्रहरीले पक्राउ गरेको थियो । प्रहरी हिरासतमा रहेकै बेला गम्भीर अवस्था भएपछि उपचारका क्रममा वीरगञ्जमा उनको मृत्यु भएको छ ।
१९ वर्षीय विजयको शरीरभरि निलडाम र घाउचोट भेटेपछि स्थानीयले प्रहरीको कुटपिटका कारण मृत्यु भएको दाबी गर्दै आएका छन् ।पछिल्लो समय रौतहटमा हत्या हिंसा बढुनुको र तस्करी र तस्करको रजाइँ र दलाली हाबी थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय