प्रतीकात्मक तस्बिर।

व्यापारीका रुपमा कार्य गरी अन्य व्यापारी एवं व्यवसायीलाई ज्यान मार्ने धम्की तथा डर त्रास देखाई रकम असुल गर्ने पाँच जनाको समूहलाई प्रहरीले पक्राउ गरी बुधबार यहाँ सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङमा बुधबार आयोजित पत्रकार सम्मेलनमा भारत विहार सीतामणि जिल्ला घर भई विराटनगर जलजला मोडस्थित चाइना बजारमा कपडाको कारोबार गर्ने २७ वर्षीय राज साह, मोरङको कहटरी गाउँपालिका–२ बस्ने २६ वर्षीय किसन साह, सोही स्थान बस्ने २८ वर्षीय एलेक्स भन्ने रविन शर्मा, २७ वर्षीय अभिषेक राय र सप्तरी जिल्ला बोदेबर्साइन नगरपालिका–८ काचन बस्ने २७ वर्षीय नन्दकिशोर साहलाई विराटनगर र कटहरीबाट पक्राउ गरी सार्वजनिक गरिएको हो।

निजहरुले विगत एक वर्षदेखि विभिन्न व्यापारीलाई डर, त्रास एवं धम्की दिई भीडभाड हुने स्थान विराटनगरको गुद्री बजार, कञ्चाबारीस्थित नोबेल नहर चोकबाट व्यापारीहरूबाट एक लाखदेखि चार लाख रूपैयाँसम्म लिने गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए।

निजहरूको साथबाट भारतीय र नेपाली गरी ९७ हजार १ सय २० रूपैयाँ, अटोमेटिक पेस्तोल एक र त्यसमा लाग्ने गोली तीन थान, धम्काउने प्रयोग गरिएका विभिन्न कम्पनीका मोबाइल १६, भारतीय बैंकको दुई थान चेक, तीन थान मोटरसाइकल र चक्कु एक थान बरामद गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए

रविन शर्माले विराटनगर मलाया रोडको नहर छेउबाट एक भारतीयसँग एक लाख रूपैयाँमा पेस्तोल खरिद गरेको बताए।

निजहरूले व्यवसायीका घरमा पेस्तोल पड्काई डर, त्रास देखाई रकम माग गर्ने गरेका थिए।

आरोपीतले विसं २०७७ असार २५ गते बेलुकी ९८४०४१८२३० नं को मोबाइलबाट एक व्यापारीलाई एसएमएस पठाइ १० लाख रूपैयाँ माग गरी असार २६ गते पाँच लाख लिएका छन् भने २०४७ साल साउन १३ गते बेलुकी ९ बजे ९८४०४१८२३० नं को मोबाइलबाट अर्का व्यापारीलाई फोनबाट धम्की दिई १० लाख माग गरेको तथा भदौ १५ गते चाइना बजारका सञ्चालक रामनरेश साहको घरबाट ११ लाख चोरी गरेको प्रहरी उपरीक्षक खड्काले बताए।

निजहरूले धम्की दिएको एक व्यापारीले दिएको सूचनाका आधारमा आरोपीहरूलाई पक्राउ गरिएको हो।

निजहरूले गरेका अन्य आपराधिक कार्यका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

निजहरूलाई हातहतियार खरखजाना, आपराधिक लाभ, चोरी तथा सङ्गठित अपराधमा अनुसन्धान कारवाही अगाडि बढाइएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए।

यसैगरी प्रहरीले विभिन्न समयमा सर्वसाधारण नागरिकको चोरी भएको, हराएको ५३ थान मोबाइल फेला पारी बुधबार सम्बन्धित धनीलाई बुझाइएको छ।

(रासस)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय