हाम्रो जनकपुर / जनकपुरधाम । प्रदेश २ सरकारका सबै मन्त्रालय विभागलगायत सबै सरकारी कार्यालयले चेकबिना नै व्यक्ति र संस्थालाई ईपेमेन्ट गर्ने विद्युतिय भुक्तानी प्रणाली शुरु गरेको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख राधे श्याम गिरीले जानकारी दिएका छन् ।

प्रदेश नं २ सरकारले अब कुनै पनि संस्थालाई भुक्तानी गर्दा चेक काट्नु नपर्ने भएको छ । सोमवारदेखि प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले चेकबिना भुक्तानी दिने विद्युतीय भुक्तानी प्रणाली शुरु गरेको हो ।

विद्युतीय प्रणालीमा गएपछि भुक्तानी पाउने पक्षबाट सम्बन्धित कार्यालयमा विल पेश गरिने, सोही विलका आधारमा भुक्तानी दिने कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालयमा प्रणालीबाट भुक्तानी आदेश पठाउने र कोषले चेकको सट्टा विल पेश गर्ने पक्षको खातामा सिधै रकम जम्मा गर्ने र सो रकम जम्मा भएको जानकारी प्रणालीबाट भुक्तानी आदेश पठाउने कार्यललाई गराइने व्यवस्था भएको उनले बताए ।

पहिला एउटा चेक साट्न छिटोमा ५ दिनदेखि एक महीनासम्म लाग्ने गरेपछि यसलाई सहजता ल्याउन भुक्तानी गर्नुपर्ने संस्थाको खातामा सिधै रकम हस्तान्तरण (ट्रान्सफर) हुने आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव काशीराज दाहालले बताए । उनका अनुसार विद्युतीय भुक्तानीबाट एकैदिन खातामा रकम ट्रान्सफर हुनेछ ।

सरकारी कार्यालयले अब सम्बन्धित संस्थाको खाता नम्बरसहित विवरण पठाएपछि कोष तथा लेखा नियन्त्रक कार्यालयले सिधै खाताबाट संस्थाको खातामा रकम ट्रान्सफर गर्ने उनले जानकारी दिए । दिउसो १२ बजेसम्म गरिएको रकम ट्रान्सफर सोही दिन साँझसम्म भुक्तानी पाउने संस्थाको खातामा जम्मा हुने उनले जानकारी दिए ।

यसबाट छिटो भुक्तानी हुने, सरकारी कारोबार गर्ने बैंकको लागत घट्ने, चेक हराउने, च्यातिने र समयमा भुक्तानी नहुने समस्याको अन्त्य र सिधै खातामा जाने भएकाले भुक्तानी दुरुपयोगको नहुने उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय