जनकपुरधाम । धनुषा जिल्लामा कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेपछि जारी निषेधाज्ञालाई पुनः एक हप्ता लम्ब्याइएको छ । आजदेखि फेरि भादाै २१गतेसम्म थप निषेधाज्ञा लम्बिएकाे छ ।

यस अगाडि जारी गरिएको निषेधाज्ञा भदौ १४ गते आइतबार (आज) राति १२ बजे सकिदै थियो । प्रजिअ भट्टराईले कोरोना संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिनका लागि जिल्लाभर प्रतिकूल प्रभाव पर्नसक्ने कुनै किसिमको गतिविधि हुन नदिन र गर्न नदिन आग्रह गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जिल्लाभर कोरोना संक्रमणको जोखिम बढ्दै गएको र समुदायस्तरमा फैलिएकाले निषेधाज्ञाको समयअवधि भदौ २१ गतेसम्मका लागि थप गरिएको जानकारी दिएका हुन् ।

निषेधाज्ञाको अवधिमा व्यापारीहरुले विहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म मात्र पसलहरु सञ्चालन गर्न पाउने भएका छन् । व्यापार व्यवसाय सञ्चालन गर्दा बिक्रेताले पञ्जा, मास्क र स्यानिटाइजरको अनिवार्य प्रयोग गर्नुपर्ने जानकारी गराइएको छ ।

साथै सामाजिक दूरी कायम गर्नुपर्ने तथा क्रेतालाई पनि अनिवार्य रुपमा मास्क प्रयोग गर्न प्रजिअ भट्टराईले स्पष्ट पारेका छन् ।

प्रशासनले औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा, मालसामान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डारण र वितरण, फोहोरमैला संकलन तथा ढुवानी, विद्युत सेवा, कृषिजन्य कार्य तथा कृषि तथा पशुपन्क्षीजन्य उत्पादन, ढुवानीमा प्रयोग हुने साधन, वर्कशपलाई अत्यावश्यक सेवा उल्लेख गरेको छ ।

धनुषामा आइतबारसम्म संक्रमितहरुको संख्या १ हजार ४ सय ४७ जना पुगेका छन् । जसमध्ये १२ को मृत्यु समेत भइसकेको छ, भने ८ सय ५८ जना संक्रमितहरु डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय