हाम्रो जनकपुर / जनकपुरधाम । कोरोना भाइरसको संक्रमणबाट मंगलबार एकै दिन प्रदेश २ मा ४ जनाको मृत्यु भएको छ ।

महोत्तरीका २ र बाराका २ जना गरी कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको समाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा महोत्तरीको मनरासिस्वा नगरपालिका–३ का ७५ वर्षीय पुरुष र सोही स्थानका ७७ वर्षीय पुरुष रहेका छन् ।

यस्तै बाराको सुवर्ण गाउँपालिका–४ परशुरामपुरका ७२ वर्षीय र महागढीमाई नगरपालिका ४ दहियारटोल बस्ने ५९ वर्षीय पुरुषको समेत संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक विजय झाका अनुसार मनरासिस्वाका वृद्ध जलेश्वर अस्पतालमा मृत्यु भएको छ ।

भरतपुर क्यानसर अस्पतालमा उपचार गराउन पुगेका उनलाई त्यहीँ संक्रमण पुष्टि भएको थियो । चितवनबाट फर्किएका ती वृद्धको रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेसनमा राख्न अस्पताल ल्याएको केहीबेरमै मृत्यु भएको उनले बताए ।

यस्तै सोमबार साँझ प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका बलबा नगरपालिकाका ७७ वर्षीय वृद्धको मंगलवार मृत्यु भएको छ । निमोनियाबाट ग्रसित उनको भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो ।

संक्रमणबाट बाराको सुवर्ण गाउँपालिकाका ७२ वर्षीय वृद्धको वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालमा मृत्यु भएको छ । उनी होम आइसोलेसनमै बसिरहेका थिए । तर स्वास्थ्यमा समस्या आएपछि ८ भदौदेखि उनी अस्पताल भर्ना भएका थिए ।

यस्तै महागढीमाइई नगरपालिकाका ५९ वर्षीय वृद्धको समेत गण्डक अस्पतालमै मृत्यु भएको बताइएको छ । उनलाई फेक्सोमा समस्या देखिएको थियो ।

सप्तरीमा ५, सिरहामा ४, धनुषामा ११, महोत्तरीमा ४, सर्लाहीमा ३, रौतहटमा ३, बारामा ८ र पर्सामा २८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

योसँगै मंगलबारसम्म प्रदेश २ मा संक्रमणबाट मृत्यु हुनेको संख्या ६६ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय