हाम्रो जनकपुर / सिरहा । सिरहा जिल्लाको लहान घर भएका २२ वर्षीय कोरोना संक्रमित युवकको उपचारका क्रममा मृत्यु भएको छ । आइतबार कोरोना संक्रमण पुष्टि भएका उनको सोमबार दिउँसो ३ बजे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या देखिएका उनी भदौ २ गते अस्पताल भर्ना भएका थिए । संक्रमण पुष्टि भएपछि आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा सोमबार मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
मृतक युवक लागूऔषध प्रयोगकर्ता रहेको प्रतिष्ठानले जनाएको छ । उनमा मुटुसम्बन्धी समस्या पनि थियो । धरानमा शनिबारयता लगातार तीन दिन तीनजनाको मृत्यु भएको हो । शनिबार र आइतबार धरानकै पुरुषको मृत्यु भएको थियो ।

सिरहामा मृतकको संख्या चार पुग्यो
युवकको मृत्युसँगै सिरहामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ । मिर्चैया नगरपालिका–४ घर भएका करिब ६० वर्षीय पुरुषको २ भदौमा स्वाब संकलन गर्ने क्रममै मृत्यु भएको थियो । तीन दिनपछि आएको रिर्पोटमा उनमा कोरोना पुष्टि भएको थियो ।

२९ साउनमा विष्णुपुर गाउँपालिका–१ का ४० वर्षीय पुरुषको मृत्यु भएको थियो । उनको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । यसअघि २२ साउनमा गोलबजार नगरपालिका–१२ बेतौनाका करिब २३ वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । उनी मिर्गौला रोगी थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय