हाम्रो जनकपुर / जनकपुरधाम-धनुषास्थित प्रदेश सरकारले सञ्चालन गरेको आइसोलेसन भित्रको बेथिति बाहिर ल्याएपछि एक सञ्चारकर्मीलाई सेनाले ज्यान मार्ने धम्की दिएको छ।संक्रमित सञ्चारकर्मीले नगराईन नगरपालिकाको गँगुलीस्थित आइसोलेसनको बेथितिको भिडियो सार्वजनिक गर्दा नेपाली सेनाले उनलाई धम्की दिएको हो।आइसोलेसनभित्रको बेथिति समाजिक सञ्जाल मार्फत बाहिर ल्याएपछि सोही विषयलाई लिएर नेपाली सेनाका केही जवानहरुले स्वीपर मार्फत धम्की दिएको दृश्य समेत बाहिरिएको छ।

आइसोलेसनको सरसफाईका लागि कार्यरत रहेका राजा मेस्तर भन्ने सफाइ कर्मचारी मार्फत धम्की पठाइएको ती सञ्चारकर्मीले जानकारी दिएका छन् ।

‘सफाइ कर्मचारीले हामीलाई आइसोलेसन भित्रको कुरो बाहिर नल्याउन, बाहिर ल्याए सेनाले मार्ने धम्की दिएका छन्,’ संक्रमित सञ्चारकर्मीले भने । सोमबार सफाइका लागि सफाइकर्मी पुग्दा यी कुराहरु भनेको ती सञ्चारकर्मीले बताए ।

यता धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले धम्की दिने सेनासँग स्पष्टीकरण सोध्नको लागि भनिसकिएको बताए । उनले भने, ‘धम्की दिने सेनालाई स्पष्टीकरण सोध्न कर्नेल साहेबलाई भनिसकेको छु, सेना दोषी ठहरिए कारबाही हुन्छ ।’यसअघि सफाइ कर्मचारी संक्रमितहरुलाई चेकजाँच गर्न पुगेको दृश्य बाहिरिएपछि आलोचना भएको थियो ।

आलोचनापछि त्यहाँ रहेको चिकित्सकको टोली दुई दिन अगाडि परिवर्तन गरिएको उनले बताए।यता कोभिड अस्पताल जनकपुरधामका संयोजक डा. जामुन सिंहले त्यहाँ दोषी पाइएका एक जना चिकित्सक, एक जना एसिसटेन्ट र एक जना स्वीपरलाई झिकाइएको जानकारी दिए। जबकि थर्मलगन लिएर संक्रमितलाई चेकजाँच गर्न पुगेको सफाइ कर्मचारी नै सोमबार पनि सफाइका लागि पुगेको बताइएको छ।संक्रमित सञ्चारकर्मीका अनुसार अब चिकित्सक नै संक्रमितहरुलाई चेकजाँच गर्न पुग्छन् । तर दुई दिनदेखि गंगुली आइसोलेसनमा रहेको थर्मल गनले काम गर्न छोडिसकेको छ । उनले भने, ‘दुई दिनदेखि थर्मल गनमा ब्याट्री छैन, त्यसैले तापक्रम मापन समेत दुई दिनदेखि भएको छैन ।’गंगुली स्थित सो आइसोलेसनलाई प्रदेश सरकारले एशियाकै उत्कृष्ट आइसोलेसन रहेको भनेर प्रचार गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय