हाम्रो जनकपुर / जनकपुरधाम : सिरहामा क्रसर माफियाले गुण्डागर्दीमा उत्रेका छन् । अवैध रुपमा ढुंगा उत्खनन गरिरहेका क्रसर माफियाको विरोध गर्दा बुधवार राति दुई अभियन्ता कुटिएका हुन् ।

सिरहाको कर्जन्हा नगरपालिका ३ कमला नदिको पुर्वी किनारमा माफियाहरुले अवैध रुपमा ढुंगा उत्खनन गर्छन् । सोको विरोध गर्दा माफियाको समूहले अभियन्ता जित सिंह र जितेन्द्र यादवलाई ज्यान लिने प्रयास गरेका छन् । तर उनीहरु भागेर ज्यान जोगाएको बताइएको छ ।

माफियाहरुले जित सिंहलाई मरनासन्न हुनेगरी कुटपिट गरेका छन् । जितेन्द्र पनि उनीहरुको कुटाइबाट घाईते छन् । गम्भिर घाईते जित सिंहको उपचार कर्जन्हामा हुन नसक्दा काठमाडौं लगिएको छ । अहिले उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको पीडित परिवारले जनाएको छ ।

क्रसर माफियाहरुलाई जनप्रतिनिधिहरुले नै संरक्षण दिने गरेको स्थानीयको भनाई छ । जनप्रतिनिधिहरु पावरको दुरुपयोग गर्दै प्रकृति दोहन गर्दा पनि सरकार मौन बसेका छन् । स्थानीय युवाहरुले पटक पटक ढुंगा गिट्टीको अवैध उत्खनन बन्द गराएपनि प्रहरी प्रशासनकै सहयोगमा जनप्रतिनिधिहरुले माफियालाई बचाउने गरेका छन् ।

अबैध उत्खननको विरोध गर्दा दुई अभियन्ताको ज्यान मार्ने प्रयास भएपछि स्थानीयले आन्दोलनको तयारी गरिरहेको बुझिएको छ । स्थानीय प्रभात महतोले क्रसर माफिया, संरक्षण गर्ने प्रशासन र जनप्रतिनिधको विरुद्ध आन्दोलन गर्ने बताए । उनले दुई जनाको ज्यान मार्ने प्रयास गरेका माफियाहरुलाई कानूनी कठघरामा उभ्याउन प्रशासनसँग माग समेत गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय