खानामा किरा भेटेपछि गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेशनमा तोडफोड, संक्रमित भोक हडतालमा

हाम्रो जनकपुर , जनकपुरधाम । कोरोना संक्रमितको खानामा किरा फेला परेपछि संक्रमितहरुले आइसोलेशनमा तोडफोड गरेका छन् ।

सप्तरी राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको आईसोलेसनमा कोरोना संक्रमितहरुको खानामा किरा भेटिएपछि तनाव उत्पन्न भएको छ ।

खानामा किरा भेटेपछि गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेशनमा रहेका संक्रमितहरु आक्रोशित हुँदै आइसोलेसनका टेवुलकुर्सी समेत तोडफोड गरेका छन् भने भोक हडतालमा समेत बसेका छन् ।

किरा भएको खाना झन रोगी बनाउने भन्दै आफुहरु भोक हड्तालमा बसेको आइसोलेसनमा बसेका एक संक्रमितले बताए ।

उनका अनुसार पटक–पटक गुनासो गर्दा पनि अस्पताल व्यवस्थापन पक्षले कुनै चासो दिएन् ।

मेयर, सांसद र मन्त्रीहरु संक्रमित भएपछि आ–आफ्नो सुविधाको हिसाबले कोही काठमाण्डौमा त कोही घरमै आइसोलेसनमा बसेका छन् ।

तर, सर्वसाधारण जनतालाई आइसोलेसनमा भेडाबाख्रा जस्तै व्यवहार सहनु परेको उनको भनाई छ । सो आइसोलेसनमा १० वर्ष मुनिका बालबालिकाहरु पनि छन् । आइसोलेशनमा पानीको समेतको राम्रो व्यवस्था नगरिएको उनले बताए ।

कोरोना संक्रमित आक्रोशित युवकहरुले तोडफोड गरेपछि तनाव उत्पन्न हुँदा आईसोलेसनमा खटेका स्वास्थ्यकर्मी र अस्पतालको व्यवस्थापकीय टोली आईसोलेसन छाडेको गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रञ्जीत कुमार झाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय