• जनकपुरधाम।

भारतको उत्तर प्रदेशस्थित अयोध्यामा राम मन्दिरको शिलान्यास भएपछि जनकपुरधाममा विविध कार्यक्रमहरु आयोजना गरी खुसियालीमा मनाइएको छ ।

भारतको अयोध्यामा राम मन्दिरको शिलान्यासका लागि भूमि पुजन भएको खुसियालीमा जनकपुरधाममा भव्यरुपमा दिप प्रज्वलनसहित विविध सांस्कृतिक कार्यक्रमहरु भएको हो ।

जनकपुरधामस्थित जानकी मन्दिरसहित विभिन्न मठ मन्दिरमा भूमि पुजनको खुशियालीमा जनकपुरधाममा रामधुन बजाउँदै भजन किर्तन गरिएको छ भने साँझमा घर आँगन, सडक पेटिका लगायतका क्षेत्रमा समेत रंगोली बनाएर दिप प्रज्वलन गरिएको छ ।

लामो समयदेखि विवादमा रहेको राम मन्दिर निर्माण सम्बन्धमा भारतको सर्वोच्च अदालतले राम मन्दिरको पक्षमा निर्णय सुनाएपछि आज भएको भूमि पुजनको अवसरमा भगवान रामको ससुराली जनकपुरधाममा विहान भजन किर्तन र साँझमा दिप प्रज्वलनसहित रंगोली बनाएका छन् ।

राम मन्दिरको भूमि पुजनको अवसरमा खुशियाली मनाउँदै जानकी मन्दिरमा भजन किर्तन भएको र साँझमा दिपावली मनाइरहेको जानकी मन्दिरका पुजारी ऋषिकेश झाले बताए ।

त्यस्तै जनकपुरधाममा जानकी युवा क्लबले भव्यरुपमा जानकी चोकमा दिप प्रज्वलनसहित रंगोली बनाएर उत्सव नै मनाएका छन् ।

युवा अभियन्ता सुशील कर्णले रामको मन्दिरको लागि भएको भूमि पुुजनको ऐतिहासिक दिनको क्षणको रुपमा रंगोली बनाएर दिप प्रज्वलन गरी विशेष दिनको रुपमा मनाएको बताए ।

राम मन्दिरको भूमि पुजनमा सरिक हुन जानकी मन्दिरका महन्त राम तपेश्वर दास वैष्णव मंगलबार साँझ भारतको अयोध्या प्रस्थान गरेका थिए । महन्त दास अयोध्यामा नै उपस्थित छन् ।

उनी अयोध्या भएपनि मन्दिर निर्माणको खुसियालीमा जानकी मन्दिरमा दिनमा भजन किर्तनको आयोजना गरिएको छ भने साँझमा जानकी मन्दिरमा दिपावली मनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय