हाम्रो जनकपुर समाचारदाता ।

कोरोना भाइरसको त्रास र लकडाउनका कारण प्रभावित भएका किसानहरुको ४ महिनाको बैंकको व्याज अनुदान दिने क्रममा शनिवार धनुषा जिल्लामा व्याज रकम हस्तान्तरण गरिएको छ । धनुषाका ६ हजार ७ सय ८१ किसानहरुको बैंकको व्याज रकम शनिबार एक कार्यक्रमका बिच प्रदेश २ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बैंक तथा सहकारी संस्थाहरुको खातामा चेक मार्फत जम्मा गरेको छ । उक्त रकम विभिन्न सहकारी संस्था तथा बैंकको नाममा चेक हस्तान्तरण गरिएको हो ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले सहकारी संस्थाहरुलाई चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै उनले भने,‘ कोरोना प्रभावित किसानलाई राहत स्वरुप प्रदेश २ का ८० हजार ऋणीलाई व्याज प्रदान गर्ने कार्यक्रम रहेको छ । तर, हाल ३ लाख भन्दा कम ऋण लिएका किसानको खातामा रकम पठाउने क्रम सरकारले जारी राखेको छ ।’ उनले पहिलो चरणमा प्रदेश २ का झण्डै ५० हजार किसानको खातामा चार महिनाको व्याज रकम पठाइने बताए । ३० लाखसम्म ऋण लिएका किसानलाई राहत स्वरुप व्याज दिने र आगामी दिनमा प्रदेशका ८ वटै जिल्लाका कृषकलाई प्रदान गरिने समेत उनले जानकारी दिए ।

कृषि क्षेत्रमा लगभग ८० अर्ब रुपैयाँ लगानी भएको बताउँदै मन्त्री साहले लगानी अनुसार प्रतिफल आउन नसकेको प्रमुख कारण संघिय सरकारको खोकला निती रहेको जिकिर गरे । जिल्ला समन्वय समिति धनुषाका सभापति रामदेव बनरैत यादवले पहिलो चरणमा धनुषा जिल्लाका १० हजार किसानको निवेदन परेको र मापदण्ड अनुसार ७ हजार ६ सय ८१ जनालाई छनौट गरिएको तथा बाँकीलाई अर्को चरणमा वितरण गरिने बताए । सो कार्यक्रम कृषि ज्ञान केन्द्र धनुषाद्वारा आयोजना गरिएको थियो । यता आइतबार र सोमबार बारा र सिरहाका किसानलाई व्याज हस्तान्तर गरिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय