दुई–तीन दिनयता प्रदेश २ का जिल्लासहित देशभर वर्षा भइरहेको छ । किसानलाई रोपाइँ गर्न भ्याइनभ्याइ छ । महोत्तरीको औरही नगरपालिका– १ मा अविरल वर्षाको पर्वाह नगरी धमाधम बाटो ढलान गरिँदै छ । पीसीसी ढलानको मापदण्डको बेवास्ता नगरी माटोमाथि सोझै छड ओछ्याएर सडक ढलान हुँदै छ यहाँ । गाउँलेलाई बाटोको गुणस्तरबारे कुनै चासो छैन । नियमनकारी निकायलाई आर्थिक वर्ष अन्त्यको हिसाबकिताब मिलान गर्दैमा फुर्सद छैन ।

सडक निर्माणस्थलमा ठेकेदारको समेत अत्तोपत्तो छैन । मापदण्ड अनुरूप बाटो निर्माण भए–नभएको निगरानीको जिम्मेवारी पाएको अनुगमन समिति जसरी भए पनि निर्माणमा खर्च कटौती गरेर सक्दो बढी रकम जोगाउने दाउमा क्रियाशील देखिन्छ । सडक डिभिजन कार्यालयले असारमा हतारमा ठेका लगाई बजेट मात्र सकाउन सडक ढलान गर्न लागिएको स्थानीयको गुनासो छ । ‘असार मसान्तभित्र काम सकाउन हाकिमको निर्देशन छ,’ ठेकेदार कम्पनीका सुपर भाइजर रमजस यादवले भने, ‘निर्माण सम्पन्न भएन भने बजेट निकासा हुँदैन । यस्तो अवस्थामा वर्षा हेर्नु कि जसोतसो काम पूरा गर्नु ?’

उक्त सडक ढलानका लागि सडक डिभिजन कार्यालयले भ्याटसहित ५७ लाख ७७ हजार १०३ रुपैयाँ छुट्याएको छ । उक्त रकमले २०२ मिटर लामो बाटो निर्माण गर्न लागिएको हो, जसमा तीनओटा ह्युम पाइपसहित कल्भर्ट निर्माण गर्ने सम्झौता भएको छ । त्यति रकमले कम्तीमा १० वर्ष टिक्ने स्तरीय कालोपत्र गर्न सकिने जानकार बताउँछन् । तर, कमिशन हात पार्ने उद्देश्यले २ वर्ष पनि टिक्न नसक्ने गरी पीसीसी ढलान गर्न लागिएको स्थानीय पुनीत चौधरीको भनाइ छ । ‘सडक सवारी चाप हेर्दा अहिले भइरहेको ढलान २ वर्ष पनि नटिक्ने अनुमान गर्न सकिन्छ,’ उनले भने, ‘तर बजेट दिने निकायलाई त्यसको कुनै मतलब छैन । जसरी पनि असारभित्र रकम खर्च भइसक्नुपर्ने नियत अनुसर काम भइरहेको छ ।’

वडाध्यक्ष राजकिशोर चौधरीले शुरूमा काम राम्रै भए पनि अन्तिमतिर आएर केही कमजोरी देखिएको बताए । बाटो ढलानको जिम्मा पाएका इन्जिनियर युवराज घिमिरेले शुक्रवार र शनिवार वर्षाका कारण काम रोकिएको दाबी गरे । तर सोही वडाध्यक्ष चौधरीले भने काम जारी रहेको बताएका छन् । असार मसान्तभित्रै काम सकाउनुपर्ने भएकाले पनि सबै मापदण्ड पूरा गर्न नसकिएको उनको भनाइ छ । यसैबीच, उक्त सडक ढलानको काममा अर्को गल्ती पनि देखिएको छ । सडकमा विद्युत्को पोल राखेरै ढलान भइरहेको पाइएको छ । सडक ढलान गर्दा विद्युत्को पोल हटाउनुपर्ने हुन्छ । गाडी हिँड्ने बाटोमै पर्ने बिजुलीको पोल नहटाउँदा दुर्घटनाको जोखिम बढ्ने सरोकारवालाहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय