जनकपुरधाम, असार २७ गते ।

आफ्नै पार्टीका सांसदहरुले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेका छन् । समाजवादी पार्टीको संसदीय दलको बैठकमा सांसदहरुले मुख्यमन्त्री राउत सहित मन्त्रीहरु समेतका राजीनामा माग गरेका हुन् ।

मधेसभवनस्थि मुख्यमन्त्रीको सरकारी निवासमा बसेको दलको बैठकमा मुख्यमन्त्री र मन्त्रीहरुले सरकार चलाउन नसकेको र बजेटलाई आफ्नो केन्द्रित गरेको भन्दै सांसदहरुले राजीनामा मागेका हुन् ।
‘मुख्यमन्त्री र मन्त्रीहरु आफ्नो जिल्ला र पालिकामा मात्रै केन्द्रित भए । फुटकर र सानातिना योजनामा आखाँ गाँडेका छन् । यसरी प्रदेश सरकार चल्न सक्दैन,’ दलको बैठकमा सर्लाहीका सांसद अशोक यादवले भने, ‘तपाईंहरु सरकार चलाउन सक्नु भएन । राजीनामा गर्नुस् । अर्को टिमले सरकार चलाउँछ ।’

प्रदेश २ मा समाजवादी पार्टीबाट मुख्यमन्त्री राउत, आर्थिक मामिला तथा योजनामन्त्री विजय यादव, आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह सरकारमा छन् ।

सांसद यादवले संसदीय दलको बैठकमा सरकार र मन्त्रीहरुको काम–कारबाही प्रभावकारी नभएको भन्दै आलोचना गरिएको बताए ।

‘प्रदेश सरकारले अहिलेसम्म तीनवटा आर्थिक वर्षको बजेट चलाइसक्यो । प्रदेशमा कहाँ र कुन ठाउँमा प्रभावकारी विकास भएको छ, देखाइदिनु पर्‍यो,’ सांसद यादवले बैठकमा राखेको धारणा उल्लेख गर्दै स्रोतले भन्यो,‘ मन्त्रीहरु आफ्नै स्वार्थमा लागेका छन् । बजेट जति आफ्नै पालिका र क्षेत्रमा खन्याएका छन् । जति भनेपनि सुध्रिनु भएन । अब राजीनामा गर्नुस् ।’

प्रदेश सरकारको नेतृत्व गरेको ३ वर्ष नबित्दै सत्तासिन दलमा असन्तुष्टि चुलिएको छ ।

संसदीय दलको बैठकमा सांसद पारस साह, करिमा बेगम, सञ्चमाया मोक्तान लगायतले सरकारले प्रभावकारी काम गर्न नसकेको गुनासो गरेका थिए । उनीहरुले पनि मन्त्रीहरुको कार्यशैलीप्रति रोष प्रकट व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय