जनकपुरधाम, असार १ गते ।
धनुषाको सबैला नगरपालिकामा गएको जेठ २७ गते राति प्रहरी हिरासतमा मृत्यु भएका सबैला नगरपालिकाका शम्भु सदाको परिवारले पूर्वमन्त्री मातृकाप्रसाद यादवका भाइ, प्रहरी र वडाध्यक्षविरुद्ध सरकारी वकिल कार्यालयमा उजुरी दिएका छन् ।

मृतक शम्भुकी आमा सियाली देवी सदाले इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक चन्द्रभूषण यादव, पूर्वउद्योग वाणिज्य तथा आपुर्तिमन्त्री मातृकाप्रसाद यादवको भाइ कारी यादव, सबैला नगरपालिका २ का वडाध्यक्ष पारस साह, वडा नम्बर ३ का वडाध्यक्ष सन्तोष साह, वडा नम्बर ४ मा बस्ने राजकुमार यादव, र सञ्जय साह तथा वडा नम्बर ३ बस्ने कालीप्रसाद साहविरुद्ध सरकारी वकिल कार्यालय जनकपुरमा किटानी जाहेरी दिएकी हुन् ।

उनीहरुकै मिलेमतोमा छोराको हत्या भएको भन्दै ज्यान मुद्धामा कारबाही गर्न पनि उनले माग गरेकी छिन् । सियालीदेवीको किटानी जाहेरी सरकारी वकिल कार्यालयमा दर्ता भएको कार्यालयका नायब सुब्बा विनोद सुवेदीले जानकारी दिए ।

यसअघि पटक–पटक जिल्ला प्रहरी कार्यालयमा जाँदा पनि प्रहरीले जाहेरी दर्ता गरेको थिएन । प्रहरीले दर्ता नगरेपछि पीडित परिवार सरकारी वकिल कार्यालय पुगेको हो ।

जाहेरीमा प्रहरीको निगरानीमा रहेको व्यक्तिले आत्महत्या गर्न नसक्ने भन्दै हत्या गरेर आत्महत्या जस्तो देखाइएको जिकिर गरे । सवारी ज्यान मुद्दामा हिरासतमा रहेका २२ वर्षीय शम्भु इलाका प्रहरी कार्यालय सबैलाको थुनुवा कक्षभित्र गत जेठ २७ गते राति झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

उनले चलाएको ट्र्याक्टरले गाउँकै एक महिलालाई ठक्कर दिँदा ज्यान गएपछि उनी थुनामा परेका थिएव। जाहेरी दर्ता भएपछि मृतक शम्भु सदाको प्रादेशिक अस्पताल जनकपुरधाममा पोस्टमार्टम गर्न लागिएको छ । जाहेरी दर्ता नहुँदा पीडित परिवारले पोस्टमार्टम गर्न दिन मानेको थिएन ।

सभार https://todaypati.com/?p=7477

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय