जनकपुरधाम– धनुषाको सबैला नगरपालिकामा भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै नेपाल विद्यार्थी संघ महोत्तरीले आज (शनिबार) जलेश्वरमा विरोध प्रदर्शन गरेको छ ।

नेविसंघ महोत्तरीका अध्यक्ष आशुतोष झाको नेतृत्वमा निकालिएको विरोध प्रदर्शनमा सहभागीहरुले मृतक शम्भुको परिवारलाई न्याय दिलाउन आधा घण्टासम्म धर्ना समेत दिएका थिए ।

नेविसंघ महोत्तरीका अध्यक्ष आशुतोष झाले दलितको पहुँच कम हुँदैमा उसको ज्याननै लिइदिने घटना असहय रहेको बताए । त्यस उनले भने– ‘शम्भु सदाले न्याय पाउनैपर्छ । हामी जतिबेला पनि दलितको साथमा छौं ।’

गत जेठ २७ गते मंगलबार राति धनुषाको सबैला नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको शौचालयमा झुण्डिएको अवस्थामा स्थानीय २३ वर्षीय युवक शम्भु सदाको शव फेला परेको थियो।
प्रहरीले सदाले आत्महत्या गरेको दाबी गरेको छ भने मृतकका परिवारले शम्भुको हत्या भएको दाबी गरिहेका छन्।

जेठ १२ गते शम्भुले चलाएको ट्याक्टर दुर्घटनामा गाउँकै एकजना ५४ बर्षिया महिलाको मृत्यु भएपछि प्रहरीले उनलाई हिरासतमा राखेको थियो। जेठ २७ गते राति इलाका प्रहरी कार्यालयकै शौचालय भित्र छानोमा पासो लागेको अवस्थामा उनको शव भेटिएको थियो।

उनको हत्या भएको भन्दै मृतक परिवारसहित स्थानीयले घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने मागसहित प्रदर्शन गर्दै आएका छन्। शव फेला परेको दिन स्थानीयले इलाका प्रहरी कार्यालय सबैलाको कार्यालयमा ढुंगामुढा गर्नुका साथै इलाका प्रहरी कार्यालय यदुकोहाको गाडीमा तोडफोड समेत गरेका थिए।

मृतक सदाको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको तीन दिन बित्न लाग्दा पनि शवको पोस्टमार्टम हुन सकेको छैन भने स्थानीयको प्रदर्शन जारी रहेको छ। स्थानीयवासीले शुक्रबार सबैलामा हजारौंको उपस्थितिमा जुलुस प्रदर्शन गर्नुको साथै विरोध सभा गरेका थिए ।

मृतक शम्भुकी आमा शियाली सदाले आफ्नो छोरोको इलाका प्रहरी कार्यालय सबैलाका इन्सपेक्टर चन्द्रभुषण यादवको मिलोमतोमा हत्या गरेर शव झुण्ड्याएको दाबी गरिन्।

आमा शियाली देवीले बिलाप गर्दै भनिन्, ‘छोरोलाई हिरासतमा भेट्न जाँदा आफू असुरक्षित रहेको बताउने गरेको थियो। मेरो छोरो आत्महत्या गर्नै सक्दैन। मेरो छोरोलाई हत्या गरेर झुण्ड्याइएको थियो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय