वीरगञ्ज । कोरोना भाइरस (कोभिड–१९) संक्रमित बिरामीहरु सबै डिस्चार्ज भएपछि वीरगञ्जस्थित नारायणी अस्पताललाई स्यानिटाइज गरिएको छ । तर अस्पतालका डाक्टरहरु भने माथिल्लो निकायबाट गाइडलाइन नआएकाले नियमित सेवा कसरी सुरु गर्ने भन्ने अन्योलमा छन् ।

आइतबार १८ संक्रमित र सोमबार ४३ संक्रमित उपचारपछि घर फर्किएपछि नारायणी अस्पताल अहिले खाली छ । अन्य ३० जना संक्रमितको उपचार नारायणीकै शाखाको रुपमा वीरगञ्ज महानगरपालिकाले सञ्चालन गरेको गण्डक अस्पतालमा भइरहेको छ । गण्डक अस्पतालबाट पनि २१ जना संक्रमित गएराति डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमित बिरामी सबै डिस्चार्ज वीरगञ्ज महानगरपालिकाले २ सय लिटर पानीमा अढाइ लिटर सोडियम हाइपोक्लोराइड मिसाएर ठूलो र सानो दुईवटा दमकलमार्फत् नारायणी अस्पताल स्यानिटाइज गरेको छ । ‘कोभिड संक्रमित राखिएको वार्ड र बाहिरी परिसर सबैतिर स्यानिटाइज गराएका छौं,’ वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले भने, ‘बाहिर स्यानिटाइजेसनका लागि प्रयोग गरिएकै केमिकल सोडियम हाइपोक्लोराइडले गरेका हौं ।

’ अब अस्पतालमा इमर्जेन्सी, ओपीडी, डायलायसिस, प्रसूति लगायत अत्यावश्यक सेवा सन्चालन गर्न सकिने उनको दावी छ ।तर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्याय भने अस्पताल सञ्चालनको विषय अझै अन्यौलमा रहेको बताउँछन् । त्यसका लागि उनले केही तर्क अघि सारेका छन् ।

पहिलो कुरा कसरी सञ्चालन गर्ने भनेर नेपाल सरकारले अहिलेसम्म गाइडलाइन नै बनाइसकेको छैन । दोस्रो, कोरोना भाइरस फलाम, सिसा र काठमा पनि लामो समय बाँच्न सक्छ । तीनलाई राम्रोसँग निर्मलीकरण गर्नुपर्ने हुन्छ । त्यो बाँकी नै छ । द न्यू इङ्गल्याण्ड जर्नल मेडिसिनका अनुसार कोभिड–१९ भाइरस हावामा ३ घण्टा, तामामा ४ घण्टा, कार्डबोर्डमा २४ घण्टा, स्टेस्नल स्टिलमा र प्लाष्टिकमा ७२/७२ घण्टासम्म बाँच्न सक्छ ।

तेस्रो भनेको कोभिड–१९ को उपचारमा संलग्न चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी र सहयोगीहरुको पीसीआर टेष्ट गर्न बाँकी नै छ । पीसीआर टेष्ट रिपोर्ट नेगेटिभ आएपछि मात्रै उनीहरुलाई अन्य सेवामा खटाउन सकिन्छ ।नर्मलबाट कोभिडमा रुपान्तरण गर्न जति सहज कोभिडबाट नर्मलमा लैजान नहुने उनले बताए । ‘नारायणी नर्मलबाट कोभिड भयो, कोभिडबाट नर्मलमा रुपान्तरण हुने पहिलो अस्पताल हुन्छ,’ डा उपाध्यायले भने, ‘कसरी गर्ने ? भन्नेबारे माथिल्लो निकायमा छलफल गरिरहेका छौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय