आक्रोशित भीड प्रदर्शन गर्दै जनकपुर तर्फ आउँदै

जनकपुर- खाना नपाएर एकजना नेपालीकाे नेपाल-भारत सीमा स्थित जटही नाकामा मृत्यु भएपछि सयौँको संख्यामा नेपालीहरू सरकार र प्रधानमन्त्री विरुद्ध प्रदर्शन गर्दै जनकपुरधामतर्फ अघि बढेका छन् ।

धनुषाको शहिदनगर नगरपालिकाका वडा नं. ९ का ३० वर्षीय विरेन्द्र यादवको खाना नपाएर भाेकभाेकै मृत्यु भएकाे हाे । साे घटनापछि नाकामा रहेका नेपालीहरू प्रदर्शन र नाराबाजी गर्दै जनकपुरधाम तर्फ आइ रहेका छन् ।

भारतमा रहेको समय करिब १५ दिनदेखि चिउरा-मुरहीकाे भर जीवन धानेकाे र जटही नाकामा आइसकेपछि पनि राति नेपाल छिर्न नदिएपछि ती व्यक्तिकाे भोकभाेकै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । मृतक यादव अहमदावादमा एक होटलमा कुकको रुपमा काम गर्दै आएका थिए । तर लकडाउनपछि उनी बेराेजगार भएका थिए ।

जटही नाकाबाट करिब ३ सयकाे संख्यामा रहेका नेपालीहरू लाठी, भाटा प्रदर्शन गर्दै जनकपुरधामतर्फ आइरहेका छन् । प्रदर्शनको क्रममा ज १ त १२१३ नम्बरको एम्बुलेन्समा समेत तोडफोड गरेका छन् । उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नाराबाजी गरिरहेका छन् ।

जटही नाकामा रहेको समयमा नेपाल सरकारले खानाको व्यवस्था नगरेको र खाना नपाएर एकजनाको मृत्यु भएकाे भन्दै त्यसको आक्रोशमा ती नेपालीहरु जटही नाकाबाट प्रदर्शन गर्दै जनकपुरधाम आइरहेका हुन् ।

आक्रोशित नेपालीहरुलाई प्रहरीले रोक्न खोज्दा पनि राेकिएका छैनन् भने पत्रकारविरुद्ध समेत प्रदर्शन गर्दै आइरहेका छन् । पत्रकारहरुले आफुहरुको बारेमा समाचार सम्प्रेसण नगरेको भन्दै पत्रकार विरुद्ध समेत उनीहरूले नाराबाजी गरेका छन् । सुरक्षा सतर्कताका लागि अहिले प्रहरी परिचालन गरिएकाे छ ।

सभार सिरिस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय