लेखक सुरेश यादव

जनकपुर । “स्वास्थ्य सुरक्षाको लागि भनेर सरकारले क्वारेन्टाइनमा बस्नुपर्ने भन्छ । यहाँ त बाहिरबाट स्वस्थ भएर आउनेहरु बिरामी भएर फर्किनुपर्ने अवस्था छ । अनि भाग्दैनन् त क्वारेन्टाइनबाट ?,” भारतको गुजरातबाट फर्केर धनुषाको सबैलास्थित क्वारेन्टाइनमा ९ दिनदेखि बसिरहेका चन्द्रदेव मिश्रा भन्छन्, “दुई छाक राम्रो खुवाउन सक्दैनन् भने किन यहाँ बोलाको ? घरमै क्वारेन्टाइन भएर बस्न भनिदिए हुन्थ्यो नि !”

सबैला नगरपालिकाले वडा नम्बर १२, वरकुर्वामा रहेको फकिरचन्द गामी माविमा गत चैत १४ गतेदेखि क्वारेन्टाइन सञ्चालन गरेको छ । क्वारेन्टाइन व्यवस्थापन गर्न १२ नम्बरका वडा अध्यक्ष प्रदीप महतोको संयोजकत्वमा समिति गठन गरियो ।

आवश्यक सामग्रीको जोहो गर्न ५० लाख रुपैयाँको कोरोना कोष खडा गरियो ।

तर जनप्रतिनिधिले विश्वव्यापी महामारीको रुपमा देखिएको कोरोनाबाट जोगिने कार्यलाई पनि कमाइ खाने भाँडोकै रुपमा हेर्न थालेपछि समस्या बढ्दो छ ।

सुरुमा दुई पटक खाजा, दुई पटक खाना र दुई पटक चिया खुवाउने व्यवस्था गरेको क्वारेन्टाइनमा चार दिनयता मुस्किलले दुई छाक खाना पाकिरहेको छ । त्यसमा पनि कुहिएको चामलको भात खुवाउँदा स्वस्थ मानिसहरु पनि बिरामी पर्न थालेको क्वारेन्टाइनमा बस्नेहरुको गुनासो छ ।

“थालीमा भात हाल्ने बित्तिकै ठुस्स गन्हाउन थाल्छ । त्यही भात खाएर मलाई दुई दिनदेखि पखाला लागिरहेको छ,” विद्यालयमा रहेको उक्त क्वारेन्टाइनमा बस्ने पविन्द्र मण्डलले बाह्रखरीसँग भने । त्यहाँ उभिरहेका अन्यहरुले पनि त्यहीँ गुनासो पोखे ।

“खानामा त दाल भात र एउटा तरकारी जसो तसो निलिन्छ । घरमा जारको पानी खानेलाई यहाँ कलको पानी फिल्टर गर्नसम्म व्यवस्था नहुँदा गाह्रो छ,” पटेर्वाका मोहम्मद अजिबुल भन्छन्, “बिहान दाँत माझ्ने बेला एउटा तुथपेष्टले पाँचजना र नुहाउँदा एउटै साबुनलाई काटेर पाँच जनासम्मले प्रयोग गर्नुपर्ने बाध्यता छ ।”

बिहानको खाना दिउँसो १२ बजेपछि मात्र पाइने र त्यसअघि समान्य खाजासम्म नपाउँदा नजिकमा घर हुनेले परिवारलाई फोन गरेर खाजा मगाउँछन् र त्यहीँबाट भ्याएजति बाँडेर खानेगरेको उनीहरु बताउँछन् ।

“एक त हामी रहरले होइन बाध्यतावश रोजगारको सिलसिलामा बाहिरिनुपरेको हो । परिवारको गुजारा चलाउन अर्काको देशमा मजदुरी गर्नेहरु जानाजान बिरामी हुन चाहन्छन् त ?,” सबैलाका चन्द्रदेव मिश्राले वडा अध्यक्षहरु आएर आफूहरुलाई कोरोना लिएर आएको भन्दै हप्काउने गरेको गुनासो सुनाए, “सकेसम्म म जोगिएर गाउँसम्म आइपुगेको छु । अन्य साथीहरु पनि हरसम्भव जोगिने प्रयास गरेरै यहाँसम्म आइपुगेका हुन् । तथापि जाँच गरेपछि हामीमा संक्रमण भए नभएको पुष्टि हुने हो । तर, वडाअध्यक्ष जस्तो सम्मानित व्यक्तिहरु सीधै क्वारेन्टाइनमा पसेर हामीलाई कोरोना बोकेर आएको आरोप लाउँछन्, यो अन्याय भएन ?”

यो त भयो भारतका विभिन्न प्रान्तबाट काम छाडेर फर्केकाहरुको समस्या । क्वारेन्टाइनको सुरक्षामा खटेका प्रहरी कर्मचारीको पीडा झन् नाजुक छ ।

वैशाख २७ गतेदेखि क्वारेन्टाइन सुरक्षामा परिचालित इलाका प्रहरी कार्यालय सबैलाका हवल्दार मन्दिप पटेलले बिहान शौच गर्न पनि बोतलमा पानी बोकेर खुला ठाउँमा जानुपरिरहेको बाध्यता सुनाए ।

“विद्यालयमा जम्मा दुईवटा शौचालय छन् । त्यो क्वारेन्टाइनमा बस्ने ६१ जनाकै लागि कति पर्याप्त हो, अनुमान लाउनुस्,” हवल्दार पटेलले बाह्रखरीसँग भने, “म बिहानै उठेर बोतलमा पानी लिएर खेततिर जान्छु । जनप्रतिनिधिहरुलाई वैकल्पिक सौचालय निर्माण गर्न सुझाउँदा बन्दैन भनेर कहिल्यै भन्दैनन् तर म आएको दुई साता पुगिसक्दासम्म त्यो बनेको छैन ।”

हवल्दार पटेलले खाना, सुत्न, नुहाउनदेखि शौच गर्नसमेत समस्या झेल्नुपरेको गुनासो पोख्दै आफुहरुको स्वास्थ्य सुरक्षाको कुनै आधार नभएको बताए ।

“जनप्रतिनिधि, स्वास्थ्यकर्मी र क्वारेन्टाइनमा बस्नेहरुको भौतिक सुरक्षा दिने हाम्रो स्वास्थ्य सुरक्षा भने जोखिममा छ,” उनले भने, “यतिका दिन भयो मैले क्वारेन्टाइनमा स्यानिटाइजर पाएको छैन । दुईसाता अघि लगाएर आएकै एउटा कालो मास्क अहिलेसम्म लगाइरहेको र हातमा ग्लोब्ससम्म क्वारेन्टाइनबाट पाउन सकिएको छैन ।”

प्रहरी हवल्दार पटेलका अनुसार वैशाख २७ गते यता क्वारेन्टाइनमा बसेकाहरुको समान्य स्वास्थ्य जाँच पनि हुन सकेको छैन ।

“मैले आजसम्म कुनै स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा कसैको स्वास्थ्य जाँच गरेको देखेको छैन,” उनले भने ।

क्वारेन्टाइनमा बस्नेहरु चन्द्रदेव, पविन्द्र, अजिबुलहरुले पनि अहिलेसम्म आफुहरुको स्वास्थ्य जाँच नभएको बताए ।

क्वारेन्टाइनका स्वास्थ्य संयोजक रामदुलार यादवले अस्पतालमा जस्तो बेड बेडमै पुगेर सबैको स्वास्थ्य जाँच गरिरहनु नपर्ने बताउँछन् ।

“जो कोहीले पनि यो क्वारेन्टाइनमा १४ दिनसम्म बस्नुपर्ने हो,” यादवले भने, “यो अवधिमा कसैले आफुलाई ज्वरो लागेको जानकारी दिए तत्काल ज्वरोको लेभेल जाँचगरी पीसीआर जाँचको लागि जनकपुर पठाउने हाम्रो जिम्मेवारी हो ।”

सभार १२ खरि

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय