जनकपुरधाम : प्रदेश २ मा कोरोना संक्रमण उच्च जोखिममा पुगेको छ । प्रदेशका आठै जिल्लामा गरिएको कोरोना परीक्षणमध्ये हालसम्म ७२ जनामा कोभिड—१९ पुष्टी भएको छ । सबैभन्दा बढी पर्सा जिल्लामा ६४ जनालाई यस महामारीले सिकार बनाएको छ । यहाँ मंगलबार मात्रै ४० जनाको कोरोना जाँच पोजिटिभ आएको हो । जसमध्ये २ जना पत्रकार पनि छन् । 

त्यसैगरी बारामा ३, सर्लाहीमा १, रौतहटमा ३ र सप्तरीमा १ जनामा कोरोना संक्रमण हालसम्म पुष्टी भएको छ । प्रदेश २ को सामाजिक विकास मन्त्रालयद्वारा प्राप्त जानकारी अनुसार हालसम्म ३ हजार ९ सय ३६ जनाको स्वाब संकलन भएको छ । जसमध्ये  २ हजार ६ सय ५६ को नेगेटिभ परिणाम आएको छ ।  ७२ जनाको पोजिटिभ परिणाम आएको छ भने १ हजार २०८ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । 

प्रदेशमा बढ्दै गएको संक्रमणलाई हेर्दै सीमा व्यवस्थापनलाई अझ बढी प्रभावकारी बनाउनुपर्ने सामाजिक विकास मन्त्रालयका सविच डा. रामप्रसाद घिमिरे बताउँछन् । ‘खुल्ला सीमाबाट नेपाली आउने क्रम बढेको हुँदा बढी मात्रामा होल्डिङ प्वाइन्ट बनाएर क्वारेन्टाइन गर्ने प्रकृया सुरु गर्नु जरुरी छ,’ घिमिरेले भने, ‘सबै अस्पतालले आइशोलेशन बेड तम्तयार अवस्थामा राख्नु जरुरी छ ।’

प्रदेशभर १७९ क्वारेन्टाइन सेन्टरमा ४ हजार १ सय ९८ बेड क्षमता छ। जसमा हाल १ हजार ४ सय ६८ जना क्वारेन्टाइनमा छन् । ४ हजार ५ सय २२ जना होम क्वारेन्टाइनमा छन् भने आइशोलेशन बेडमा जम्मा ४० जना छन् । प्रदेशभरि आईशोलेशन बेडको क्षमता ३०२ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय