काठमाडौं- दार्चुलाको व्यास गाउँपालिकास्थित कालापानी क्षेत्रको सुरक्षार्थ सशस्त्र प्रहरी बल मुख्यालयले आफ्नो जनशक्ति खटाउने तयारी गरेको छ। विकट कालापानी क्षेत्रमा हेलिकप्टरमार्फत् बन्दोबस्तीका सामान लिएर सशस्त्र प्रहरीको टोली खटाउने तयारी गरेको सशस्त्र प्रहरी स्रोतले जानकारी दियो। ‘कालापानी क्षेत्रमा बोर्डर आउट पोस्ट (बिओपी) राख्ने तयारी पहिलेदेखि नै थियो । तर अहिले सीमा विवाद देखिएपछि तत्कालै फौज पठाउन लागिएको हो। यसको गृहकार्य भइरहेको छ,’ सशस्त्र स्रोतले भन्यो।

सशस्त्र प्रहरी बल ५० नम्बर गुल्म दार्चुलाका डिएसपी डम्बरबहादुर बिष्टले पनि कालापानी क्षेत्रको ब्यासको छाङ्गरुमा सशस्त्रको टोली पठाउन तयारी अवस्थामा रहनु भन्दै निर्देशन आएको जानकारी दिए। ‘हामीलाई मौखिक निर्देशन आइसकेको छ। एक दुई दिनमै जाने हिसाबले तयारी गर्नु भन्ने आदेश आएको छ। लिखित निर्देशन आएपछि यहाँबाट टोली जान्छ’ डिएसपी बिष्टले भने। स्रोतका अनुसार आउँदो बुधबार छाङ्गरुमा सशस्त्र प्रहरी पठाउने तयारी छ ।निर्देशनअनुसार नै फौज पठाउने तयारी गरिएको उनले जानकारी दिए ।

प्रहरी निरीक्षकको कमाण्डमा २५ जनाको फौज छाङ्गरुमा पठाउने तयारी गरिएको छ। यसका लागि ६ महिनासम्म पुग्ने राशनको समेत व्यवस्था ५० नम्बर गुल्म दार्चुलाले गरिसकेको जनाएको छ। छाङ्गरु जाने बाटोको सुविधा छैन । त्यसका लागि सशस्त्रले नेपाली सेनाको हेलिकप्टरमार्फत् जाने तयारी अघि बढाएको छ। हेलिकप्टरमार्फत् नै हातहतियार, गोलीगठ्ठा र बन्दोबस्तीका सामान, ६ महिनासम्मका लागि राशन, साधारण मेडिकल सामग्रीहरुका साथ सशस्त्रको टोली पठाउन लागिएको हो। छाङ्गरुमा बिओपी राख्ने निर्णय भने गत मंसिरमै भएको थियो।

पहिले नै राख्ने तयारी भइरहे पनि लकडाउनका कारण समस्या भएको थियो। तर भारतले केही दिनअघि मात्रै कालापानी, लिपुलेक हुँदै चीन जोड्ने सडक बनाएपछि तत्कालै छाङ्गरुमा बिओपी पठाउन लागिएको हो। छाङ्गरुमा बिओपी राख्नका लागि चाहिने सम्पूर्ण तयारी पनि पूरा गरिसकिएको सशस्त्र प्रहरीले जनाएको छ।छाङ्गरुमा बिओपी राख्न स्थानीयले जमीनसमेत उपलब्ध गराइसकेका छन्। छाङ्गरुमा बिओपी राख्न्े तयारी भएपछि गत चैतको पहिलो साता ५० नम्बर गुल्म दार्चुलाबाट निरीक्षणसमेत गरिसकेको डिएसपी बिष्टले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय