भारतबाट नेपालतर्फ आउन लागेका भारतीय नागरिकलाई रोक्न खोजेपछि सिरहामा सशस्त्र प्रहरी र भारतीयबीच झडप भएको छ । नेपाल–भारत सीमानाकाबाट अवैध आवतजावत रोक्न खटिएको सशस्त्र प्रहरी र भारतीय नागरिकबीच सोमबार सिराहाको सोहर्वामा झडप भएको प्रहरीले जनाएको छ ।

दुध लिएर भारतीय नागरिक नेपालतर्फ आउन लागेपछि झडप भएको थियो । करिब २०–२५ जनाको समूहले सीमापारिबाट ढुंगा हान्न थालेपछि झडप भएको प्रमुख सशस्त्र प्रहरी उपरीक्षक प्रवीण कँडेलले जानकारी दिए । झडपको क्रममा ढुंगाको चोट लागेर सशस्त्र प्रहरीका जवान राजनकुमार चौधरी घाइते भएका छन् ।

घाइते जवान चौधरीको निधारमा तीनवटा टाँका लगाइएको र अवस्था सामान्य रहेको सिराहा अस्पतालले जनाएको छ ।

आफ्नो बुबालाई दूध लिएर नेपालतर्फ पस्न नदिएपछि मोहनकुमार यादवले भारतीय गाउँ कुमरखत पुगेर २०–२५ जनाको समूहलाई सीमा क्षेत्रमा ल्याएर ढुंगा हान्न लगाएका थिए ।

सशस्त्र प्रहरीले यादवलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिराहालाई बुझाएको सशस्त्र प्रहरी उपरीक्षक कँडेलले बताए ।

सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट इटाटारका सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्र रोक्काका अनुसार अहिले सीमा क्षेत्रको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय