जनकपुरधाम, चैत २९ गते ।

विश्व कोरोना भाइरसको महामारीले अक्रान्त बन्दै गएको छ । कोरोना फैलिन नदिन नेपाल र छिमेक देश भारतमा तीनसातादेखि लकडाउन छ । भारतमा कोरोना संक्रमितको संख्या दिनानुदिन अप्रत्यासित रुपमा बढ्दै गइरहेको छ । अहिलेसम्म प्रदेश २ का कोरोना संक्रमित एकजना पनि फेला परेको छैन । यो प्रदेशबासीको लागि खुसीको कुरा हो । तर नेपाल भारत खुल्ला सीमाको कारण प्रदेश २ कोरोना संक्रमणको उच्च जोखिममा छ ।

एकसाता अघिसम्म कोरोना संदिग्ध बिरामीको स्वाब परीक्षण काठमाडौं धरान पठाएर परीक्षण हुन्थ्यो । तर एकसाता अघि प्रदेश २ मा प्रादेशिक अस्पताल जनकपुरमा कोरोना नमुना परीक्षण प्रयोगशाला स्थापना भएपछि यहि कोरोना परीक्षण भइरहेको छ । जसलाई थ्रोट स्वाब परीक्षण भनिन्छ । प्रदेश २ मा हालसम्म अढाइसयभन्दा बढी शंकास्पद बिरामीको स्वाव परीक्षण भएकोमा १ सय १९ जनाभन्दा बढी रिपोर्ट आइसकेको छ । जसमा अहिलेसम्म सबै निगेटिभ छ । थ्रोट विधिबाट गरिएको स्वाब परीक्षणमा धरान र टेकुबाट आएका रिपोर्टहरु पनि निगेटिभ नै छन् ।
तर चिकित्सकहरुले नै थ्रोट स्वाब परीक्षणको गति र विश्वसनीयतामाथि ढुक्क छैनन् ।

प्रादेशिक अस्पताल जनकपुरका कनसल्टेन्ट फिजिसियन डा.विपिन यादव शंकास्पदहरुको स्वाब परीक्षणको प्रक्रियाप्रति असन्तुष्ट देखिएका छन् । अहिले आइरहेको रिपोर्टमा भर पर्ने अवस्था नरहेको उनको भनाइ छ ।

स्वाब परीक्षणको विभिन्न तरिकामध्ये अहिले घाँटीबाट स्वाब निकालेर जाँच भइरहेको बताउँदै डा.यादव यो विधि ३३ प्रतिशतमात्र विश्वसनीय रहेको दाबी गरेका छन् । यसैगरी नाकको स्वाबबाट हुने परीक्षण ६६ प्रतिशत विश्वसनीय रहेको उनको भनाइ छ । अहिले अपनाइएको विधिबाट भरपर्ने अवस्था नरहेको भन्दै उनले र्या्पिड जाँच गर्नुपर्नेमा जोड दिनुपर्ने बताए । शंकास्पद बिरामीको रगत लिएर र्या्पिड जाँच गर्नसकिए संक्रमितको पहिचान गर्न सहज हुने डाक्टर यादव बताउ छन् ।

कोरोनाको कुनै लक्षण नै नभएको व्यक्तिपनि संक्रमित भएको पाइएकोले निगेटिभ रिपोर्ट आउँदैमा ढुक्क भएर बस्नसक्ने अवस्था नरहेको उनको भनाइ छ । ‘नेपाल अहिले दोस्रो चरणमा प्रवेश गरिसकेको छ, अर्थात एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण भएको छ,’ उनले भने,‘अब हामीसँग तेश्रो चरण अर्थात समुदायमा हुनसक्ने संक्रमण रोक्नु पर्दछ ।’ समुदायमा संक्रमण भए परिस्थिति भयावह हुनसक्ने भन्दै डा.यादवले परीक्षणको गतिलाई तिव्रता दिनुपर्ने बताउ छन् । यसैगरी प्रादेशिक अस्पताल जनकपुरका मेडिकल अधिकृत डा.अजय यादवपनि रिपोर्ट निगेटिभ आउँदैमा ढुक्क भएर बस्न नसकिने बताउ छन् ।

घाँटीको स्वाब लिएर हुने परीक्षण आफैमा शतप्रतिशत विश्वसनीय नरहेकोले निगेटिभ रिपोर्ट आएकाहरुलाई थप केहीदिन क्वारेन्टाइनमै राख्नुपर्ने उनको सुझाव छ । ‘निगेटिभ रिपोर्ट आएको छ भन्दैमा शंकास्पदलाई तत्काल घर पठाउन मिल्दैन,’ उनले भने,‘थप केहीदिन क्वारेन्टाइनमा राखेर कुनै लक्षण नदेखिएमात्र घर पठाउनुपर्ने देखिएको छ ।’ प्रादेशिक अस्पताल जनकपुरमा सञ्चालन भएको फिभर क्लिनिकको जाँचबाट समेत उनी सन्तुष्ट छैनन् ।

शंकास्पद बिरामीसँग सोधपुछ गरेर मात्र जाँच भइरहेको भन्दै डा.यादवले यति प्रक्रिया मात्र पर्याप्त नरहेको बताए । ‘फिभर क्लिनिकमा जाँच गर्ने चिकित्सकहरुसँग पीपीईलगायतका आवश्यक पोशाक छैन्, हामीले बिरामीलाई स्ट्रेथोस्कोप लगाउन सकेका छैनौं,’ उनी भन्छन्,‘फिभर क्लिनिक पनि औपचारिकता मात्र भएको छ ।’

प्रदेशिक अस्पतालमा र्यापिड टेस्ट सुरु

प्रदेश २ मा आजदेखि र्या्पिड टेस्ट सुरु भएको छ । संघीय सरकारले किट पठाएपछि शुक्रबारदेखि प्रदेश २ मा र्यापिड टेस्ट सुरु भएको हो । र्यापिड टेस्टपछि कोरोना संक्रमितको पहिचान गर्ने प्रक्रियामा तीव्रता आउने चिकित्सकहरुको विश्वास छ । संघीय सरकारले प्रदेश २ लाई पाँच हजार थान किट उपलब्ध गराएपछि आजदेखि र्या्पिड टेस्ट सुरु गरिएको स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए । र्या्पिड किटमार्फत गरिने परीक्षणमा पोजेटिभ रिपोर्ट देखिए कन्र्फमेसनका लागि स्वाब पीसीआरमा पठाइने उनले बताए ।

कोरोनाका शंकास्पद व्यक्तिको रगत लिएर परीक्षण गर्ने र्यापिड टेस्टले तत्कालै परिणाम दिने भएकोले कोरोना संक्रमितको पहिचान गर्ने कार्यले तीव्रता पाउने झाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय