जलेश्वर -क्षमताभन्दा चारगुणा बढी कैदीबन्दी रहेको जलेश्वर कारागार कोरोना भाइरस (कोभिड-१९)को उच्च जोखिममा रहेको छ । भारतीय सीमा भिट्ठामोड र मधवापुर मठिहानीसँग सबैभन्दा नजिक रहेको सो कारागारमा अहिले पनि थप कैदी बन्दीहरु राखिदै गरेकाले संक्रमणको जोखिममा बढेको कारागार प्रशासनले जनाएको छ ।

१ सय ३५ जना क्षमताको जलेश्वर कारागारमा ४ सय ८० पुरुष, ४३ महिला र चार आश्रित बालबालिका गरी ५ सय ३० जना कैदीबन्दी रहेका छन् । यसमध्ये ३१ जना भारतीय नागरिक रहेको कारागार प्रशासनले जानकारी दिएको छ । भारतमा संक्रमण बढिरहेकाले सो कारागार पनि अहिले कोरोना भाइरसको उच्च जोखिममा रहेको कामु जेलर मकसुदन महासेठले बताए ।

जोखिमलाई ध्यानमा राखी उच्च सतर्कता अपनाइएको कारागार प्रशासनको दावी छ । ‘कैदीबन्दीलाई व्यक्तिगत सरसफाइ, कोभिड-१९ सम्बन्धी सचेतना कार्यक्रम तथा एक कैदीबन्दीलाई बढीमा एक आफन्तसँग १५ मिनेटका लागि मात्र भेटघाट गर्न दिने नियम बनाइएको छ,’ जेलर महासेठले भने ।

कारागार व्यवस्थापन विभागले गरेको पत्राचारअनुसार कैदीलाई भेट्न आउने आफन्तले अनिवार्य रुपमा साबुनपानीले हात धुनुपर्ने, मास्क लगाएर आउनुपर्ने, भेट्न आउने व्यक्ति स्वस्थ्य हुुनुपर्ने, ज्वरो, रुघाखोकी नलागेको हुनुपर्ने, आफन्तले कोसेलीका रुपमा घरबाट केही ल्याउन नपाउने तथा आफन्तसँग भेट्दा कैदीबन्दीले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने नियम लागू गरेको जेलर महासेठले बताए ।

यसैगरी अदालतको अनुमतिविना सर्वसाधारणलाई कारागारभित्र आउन-जान रोक लगाइएको छ । भारतीय कैदी बढी भएकाले कारागारभित्र संक्रमण फैलिएमा परिस्थिति नियन्त्रणबाहिर जानसक्ने सम्भावनालाई दृृष्टिगत गरी कारागार प्रशासनले यस्तो सतर्कता अपनाएको जेलर महासेठको भनाइ छ ।

कारागारमा एउटै कोठामा बढी कैदीबन्दी भएकाले नियमन गर्दागर्दै पनि कोभिड-१९ को संक्रमण फैलिएमा परिस्थिति नियन्त्रणबाहिर जाने चिन्ता व्यक्त गर्दै जेलर महासेठले भने, ‘अहिले पनि कारागारमा दिनहुँ कैदीबन्दी थपिने गरेकाले नयाँ कैदीबन्दीबाट संक्रमण नफैलियोस् भनेर अनिवार्य स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको छ ।’

कारागारभित्र ब्लक सिष्टमको अभाव, आन्तरिक सुरक्षा र व्यवस्थापनमा देखिएको समस्या, क्षमताभन्दा बढी कैदीबन्दी, जीर्ण संरचना, सुरक्षाकर्मी र जनशक्तिको अभावजस्ता कारणले कारागारभित्रको सुरक्षा संवेदनशीलता बढ्नाका साथै कोभिड-१९ को संक्रमणको सम्भावना पनि उत्तिकै रहेको जेलर महासेठको भनाइ छ ।

१९५३ सालमा निर्मित सो कारागारमा जम्मा १३ वटा कोठा छन् । अहिले धनुषा, महोत्तरी, सर्लाहीका साथै विभिन्न अदालत, जिल्ला प्रशासन र न्यायिक निकायका आदेशअनुसार कैदीबन्दी थपिने क्रम रोकिएको छैन । कारागारभित्र खान, बस्न, सुत्न, खानेपानी र शौचालयको समस्या रहेको छ । copy srishnews

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय