जनकपुरधाम : धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैयामा घरेलु रक्सी पिउँदा दुई सातामा ११ जनाको ज्यान गएको छ । तीमध्ये आठको बिहीबार र शुक्रबार मृत्यु भएको हो । मृत्यु हुनेमा रामविलास मण्डल, शत्रुधन मण्डल, इन्द्रजित महरा, ब्रह्मदेव यादव, गुदर महरा, रामनारायण महरा र नीरश यादव छन् । धनुषाकै रूपैठ घर भई रमदैयास्थित ससुरालीमा बस्दै आएका राजु महराको पनि मृत्यु भएको छ । शत्रुधन मण्डलको शुक्रबार साँझ जनकपुरको सिटी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । दुई साताअघि रमदैयासँगै जोडिएको मुसहर बस्तीमा मदिरा सेवनबाटै भुनटुन सदा, दसै सदा र विजय महराको मृत्यु भएको थियो । सबैको सुरुमा टाउको र पेट दुख्ने, बान्ता आउने, आँखा डम्म हुने र अन्ततः शरीर चिसो भएर ज्यान गएको स्थानीयले बताएका छन् । 

मदिरा सेवनकै कारण भरत मण्डल, ईश्वर महरा, शम्भु महरा, उपेन्द्र महरा र सीताराम यादव सिकिस्त बिरामी छन् । ईश्वरको सिटी अस्पतालमै उपचार भइरहेको छ । अन्यको पनि जिल्लाका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । 

गाउँकै पसलमा प्राप्त घरेलु मदिरा सेवन गर्दा उनीहरूको मृत्यु भएको स्थानीयले बताएका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर पप्पु नायकले पनि उनीहरूले होलीमा अत्यधिक सेवन गर्दा ज्यान गएको बताए । ‘उनीहरूले कुन मदिरा खाएको हो पुष्टि गर्न अनुसन्धान थालेका छौँ, स्थानीय केही पसलबाट मदिरा बरामद पनि गरेका छौँ,’ इन्स्पेक्टर नायकले भने, ‘बरामद मदिरा विषालु हो–होइन जाँच गर्न पठाएका छौँ ।’ प्रहरीले अवैध घरेलु मदिरा बेचेको आरोपमा स्थानीय रामनन्द साह र तारापट्टी भनिने छठियादेवी चौधरीलाई पक्राउसमेत गरेको छ । धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्की उनीहरूको मृत्युको कारणबारे अनुसन्धान सुरु भएको बताउँछन् । 

रक्सीले गाउँमा भटाभट ज्यान लियो । मृतक र घाइतेका परिवार शोकमा छन् । अन्य गाउँले त्रासमा । उनीहरूलाई लागिरहेको छ, यो सब दैवी शक्तिले भयो । यही अन्धविश्वासका कारण उनीहरू घरमा ताल्चा मारेर भाग्न थालेका छन् । 

समाजवादी पार्टीकी स्थानीय नेतृ एवं पूर्वसांसद उर्मिला यादवले भनिन्, ‘यहाँ आउँदा मलाई पनि गाउँका केही मान्छेले रोके । महारानी (देवी) रिसाएर घटना भएको हो, नजानुस् भने । गाउँमा बसे आफ्नो परिवारका सदस्यसमेत मर्ने भन्दै घर छाडेर भागेका छन् ।’ 

एक महिलाले आफूमाथि महारानी सवार भएको भन्दै काम्न थालेपछि स्थानीय झन् त्रसित भएका छन् । स्थानीयले शुक्रबार गाउँको डिहबार थानमा सलामीसमेत दिएका छन् । सबै घरबाट कम्तीमा एक–एकजना भेला भएर देवीको सामूहिक पूजा गरेका छन् । दुई महिनाअघि क्षीरेश्वरनाथ नगरपालिका–१० चोरवा गाउँमा महारानी (देवी) आएकोमा स्थानीय महरा समुदायले अपमान गर्दा रिसाएर अहिलेको घटना भएको कतिपय स्थानीयको भ्रम छ । 

होलीअघि क्षीरेश्वरनाथ नगरपालिका–१ को मुसहर बस्तीमा मदिरा सेवनबाटै भुनटुन सदा र विजय सदाको मृत्यु भएको थियो । तर, अधिकांश स्थानीय मुसहर समुदायले घरेलु मदिरा सेवन गर्ने भएकाले घटना बाहिर ल्याउन चाहेनन् । उनीहरूले पनि देवी र डिहबार थान रिसाएर घटना भएको निष्कर्ष निकाले । स्थानीयको अन्धविश्वासलाई महोत्तरी जगरियाका एक धामीले थप मलजल गरेका छन् । आफूलाई ५० हजार दिए मुसहर बस्तीलाई तन्त्रमन्त्रले बाँध्ने र आइन्दा यस्तो मानवीय क्षति नहुने बताइरहेका छन् । एउटा बोका, आठ परेवा, सवा पसेरी लड्डु र फूल–अक्षता पनि माग गरेका छन् । 

अहिले मुसहर समुदाय धामीका लागि पैसा जोडजाममा लागेको छ । प्रत्येक घरबाट चन्दा उठाउन थालिएको छ । स्थानीय चन्देश्वर सदाले भने, ‘यहाँ ८० भन्दा बढी मुसहरका घर छन्, सबैबाट तत्काल पाँच सयका दरले चन्दा संकलन गरिरहेका छौँ, पैसा जम्मा भएपछि एक–दुई दिनमै पूजापाठ गराउँछौँ ।’ 

स्थानीयमा अन्धविश्वासले वास गर्दा स्थानीय जनप्रतिनिधिलाई कुनै चासो छैन । मृत्यु र भ्रम दुवैमा जनप्रतिनिधिले चासो दिएका छैनन् । अहिलेसम्म आफूहरूको समस्या बुझ्न मेयर र वडाध्यक्ष नआएको स्थानीयले बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय