काठमाडौं : नेपाल प्रहरीका एक प्रहरी निरीक्षकले बच्चा च्यापेकी महिलामाथि निर्घात लाठी वर्षाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। जनआक्रोश बढ्दै गएपछि घटनाबारे छानबीन गर्न ललितपुर प्रहरीले उपरीक्षक दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानविन समिति बनाएको छ।

घटना ललितपुर भैँसेपाटीको हो। नेपाली सेनाका एक पूर्वरथीको घरअगाडि शुक्रबार बिहान ललितपुरका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले महिलामाथि लाठी वर्षाएका हुन्। कुटाइ खाने महिलाको नाम हेमा श्रेष्ठ रहेको बताइएको छ।

के भएको थियो?

स्थानीयले बताएअनुसार, हेमासहितका केही महिला नेपाली सेनाका पूर्वरथी हेम खत्रीको भैँसेपाटीस्थित घरमा धर्ना दिन पुगेका थिए।

बिहे गर्ने वाचा गरी सम्बन्ध राख्दै आए पनि अहिले आएर नस्वीकारेको भन्दै एक महिलाले अधिकारकर्मी गुहारेपछि महिलाहरू खत्रीको घरमा धर्ना दिन पुगेका थिए। सोही क्रममा हेमा पनि काखे बालक च्यापेर धर्नामा सामेल हुन पुगेकी थिइन्।

घरअगाडि महिलाहरू भेला भएपछि पूर्वरथी खत्रीले प्रहरी डाकेका थिए। प्रहरी निरीक्षक पौडेलको नेतृत्वमा गएको टोलीले महिलाहरूलाई तितरबितर पार्ने क्रममा लाठी चलाएको हो। पौडेलले हेमामाथि लाठी वर्षाएको भिडियो सोही समयमा रेकर्ड गरिएको हो। भिडियोमा उनले पटकपटक हेमामाथि लाठी चलाएको देखिन्छ।

भिडियो सार्वजनिक हुनासाथ सामाजिक सञ्जालमा ती प्रहरी निरीक्षकको चर्को आलोचना भएको छ। सामाजिक सञ्जालका प्रयोगकर्ताले निरीक्षक पौडेलमाथि अबिलम्ब कारबाहीको माग राखेका छन्।

छानविन सुरू

जनआक्रोश बढ्दै गएपछि घटनाबारे छानबीन गर्न ललितपुर प्रहरीले उपरीक्षक दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानविन समिति बनाएको छ। छानविनको निष्कर्ष आधारमा घटनामा संलग्न प्रहरी निरीक्षकमाथि कारबाही चलाइने छ।

भिडियो भाइरल भएपछि यसबारे चासो देखाउँदै प्रहरी प्रधान कार्यालयले घटनाको छानविन गर्न ललितपुर प्रहरीलाई निर्देशन दिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय