फाईल तस्विर

मधेश आन्दोलनका क्रममा सहिद भएका परिवारहरुलाई प्रदेश २ सरकारले दिएको जागिर खोसिएको छ। दुई महिनादेखि जागिर नभएपछि आफूहरु विचल्लीमा परेको उनीहरुले गुनासो गरेका छन्।मधेस आन्दोलनका क्रममा मधेसी दलका नेताहरुले सहिद परिवारलाई ५० लाख रुपैयाँ क्षतिपूर्ति र रोजगारी दिने घोषणा गरेका थिए। तर प्रदेश सरकारले अहिले एउटा भैंसी र नगद २५ हजार दिएर टारिदिएको परिवारको भनाइ छ।सत्तामा पुगेपछि मधेसी नेताहरुले मधेस आन्दोलनका मुद्दा बिर्सिएको मात्रै नभई सहिदका परिवार र घाइतेलाई पनि वेवास्ता गरेको पीडित परिवार बताउँछन्।

प्रदेश सरकारले दिएको रोजगारी दुई महिना नवित्दै खोसिएपछि वीरगञ्ज महानगरपालिका १६ इनरवाका सहिद धर्मराज सिंहका दाइ करणलाई परिवार चलाउन मुस्किल परेको छ।करण भन्छन् ‘अहिले दिएको जागिर पनि खोसियो, ५० लाखको साटो २५ हजार मात्रै दिएर टारियो।’ उनी साना तथा घरेलु उद्योग वीरगञ्जमा ६ महिनादेखि कार्यालय सहयोगी पदमा काम गर्दै आइरहेका थिए।प्रदेश २ मा मधेसी दलको सरकार बनेको दुई वर्ष पूरा भएको छ। केही दिन अगाडि वीरगञ्ज महानगरपालिकामा आयोजित बलिदानी दिवस र सहिद सम्मान कार्यक्रममा प्रदेश सरकारले मधेसी सहिदका परिवारलाई २५ हजार रुपैयाँ नगद प्रदान गरेको थियो।करार सकिएका सहिद परिवारलाई काममा निरन्तरता दिन प्रदेश सरकारलाई म्याद थपका लागि आग्रह गरे पनि त्यहाँबाट निर्देशन नआएका कारण अहिले म्याद थप गर्न नसकिएको साना तथा घरेलु उद्योग वीरगञ्जका सूचना अधिकारी अशोक पाण्डेले बताए।

वीरगञ्ज महानगरपालिका १६ नागवा गाउँका सहिद सोहन साह कलवारकी श्रीमती बिनिता गुप्ताको पनि गुनासो उस्तै छ। ‘वर्षमा एक दिन मञ्चमा बोलाएर च्यादर ओढाउँदैमा हाम्रो समस्या र पीडा सुल्झिँदैन’ उनले भनिन्।यसअघि संघीय सरकारले सहिद परिवारलाई १० लाख रुपैयाँ दिएको थियो। तर प्रदेश सरकारले भने ५० लाखको आश्वासन बाहेक कुनै सहयोग नगरेको परिवारको भनाइ छ।पर्सा क्षेत्र नम्बर १ का संघीय समाजवादी पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप यादवले सहीद परिवारलाई ५० लाख दिने घोषणा गरेर नदिनु र दिएको रोजगारी पनि खोसिनु राम्रो नभएको बताए।‘प्रदेश २ मा मधेसी दलकै सरकार छ, अहिले सत्तामा हुँदा नदिए कहिले दिने होरु’ सांसद यादवले भने।

‘५० लाख दिन प्रदेश सरकार सक्षम छैन’
प्रदेश २ का सामाजिक विकासमन्त्री नवल किशोर साहले सहिदका परिवारलाई ५० लाख दिन प्रदेश सरकार आर्थिक रुपमा सक्षम नभएको बताए।‘आन्दोलनका बेला सहिद परिवारलाई ५० लाख दिने त भनियो तर दिने कसरी? प्रदेश सरकार आर्थिक रुपमा सक्षम नै छैन’ उनले भने।

११७ सहिद तर ५२ लाई मात्रै नगद
पहिलो, दोस्रो र तेस्रो गरी तीन पटकको मधेस आन्दोलनमा मारिएका ११७ जनालाई सहिद घोषणा गरिए पनि बलिदानी दिवसमा ५२ सहिदका परिवारलाई मात्र प्रदेश सरकारले जनही २५ हजार रुपैयाँ प्रदान गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय