काठमाडौं । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले मंगलबार संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा कोरोना संक्रमण बढ्दै जादा दक्ष जनशक्ति नभएर उपचारमा कठिनाई भएको गुनासो गर्नुभयो ।

लोकसेवा आयोगले ४ वर्षदेखि विज्ञापन नखोलेकाले पर्याप्त चिकित्सक नभएको उहाँको भनाइ थियो । दक्ष जनशक्तिको अभावका कारण भएका भेन्टिलेटर र आईसीयू कक्षहरू चलाउन नसकिएको भन्दै उहाँले आक्रोश पोख्नुभयो ।

स्वास्थ्य मन्त्रालयले लोक सेवा आयोगले विज्ञापन नखुलाउँदा देशभर जनशक्ति अभाव भएको जनाएको छ । आयोगले वर्ष–वर्षमा विज्ञापन खोल्नुपर्नेमा ४ वर्षदेखि विज्ञापन नखोल्दा स्वास्थ्य जनशक्तिको अभाव भएको भन्ने मन्त्रालयको आरोपलाई आयोगले ठाडै अस्वीकार गर्यो ।

आयोगका प्रवक्ता तोयनारायण सुवेदीले ४ वर्षदेखि विज्ञापन नखुलेको सूचना गलत भएको बताउँदै मन्त्रालयले मागेको आधारमा प्रत्येक वर्ष विज्ञापन खुलाउने गरेको तर्क गर्नुभयो । मन्त्रालयले नै पर्याप्त जनशक्ति नमागेको उहाँको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयको मागबमोजिम आयोगले विज्ञापन निकाल्ने स्पस्ट पार्दै सुवेदीले स्वास्थ्य मन्त्रालय नै आफूलाई चाहिने जनशक्तिको विषयमा स्पस्ट नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मन्त्रालयले कुन जनशक्ति कति चाहिएको हो भनेर स्पस्ट भनेपछि हामीले विज्ञापन गर्ने हो ।’

आयोगले गतवर्ष नवौं तहका ३७ जनाको लिखित परीक्षा गरिसके पनि अन्तर्वार्ता गर्न सकेको छैन । कोरोना भाइरसको महामारी र आयोगमा पदाधिकारी नियुक्त नहुँदा लिखित परीक्षा उत्तीर्ण गरेकाहरूको अन्तर्वार्ता गर्न नसकिएको प्रवक्ता सुवेदीले बताउनुभयो ।

देशभर स्वास्थ्यका लगभग १४ सय ५० सरकारी चिकित्सक छन् । जनशक्ति अभावपछि मन्त्रालयले वैशाख १५ गते ५ महिने करारमा चिकित्सकहरू राख्न अस्पताललाई निर्देशन दिएको छ । तर, करारमा भन्नेवित्तिकै एकदमै कम आवेदन पर्ने गर्छ ।

कोरोना संक्रमण देखिएको १ वर्षको अवधिमा स्वास्थ्य मन्त्रालयले आफूलाई चाहिने जनशक्तिको निक्र्योल नगर्दा देशभरको स्वास्थ्य प्रणालीमा समस्या उत्पन्न भएको हो । आफ्नो बारेमा स्पस्ट हुन नसकेको मन्त्रालयले अरुलार्ई दोषरोपण र गुनासो गर्दै हिड्नु न्यायोचित हुँदैन कि ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय