सर्लाही — महाशिवरात्रिको अवसरमा सर्लाहीको हरिपुरस्थित लक्ष्मीनाथ महादेव मन्दिरमा शुक्रबार भक्तजनको घुइँचो लाग्यो । हरिपुर नगरपालिका–७, चितायनस्थित मन्दिरमा भान्टाको भार तथा धानको मौर चढाउन हजारौं भक्तजनको भीड लागेको हो । शरीरमा मुसा तथा छाला रोग निको हुने विश्वासका साथ हरेक वर्ष महाशिवरात्रिको दिन चितायन मन्दिरमा भान्टाको भार चढाउने चलन छ । चिताएको कुरा पूरा हुने विश्वासमा भक्तजनले परालमा बाँधिएको धान अर्थात मौर चढाउने गर्छन् ।

शिवरात्रिको अवसरमा श्रद्धालु भक्तजनहरू गाईको दुध, जल तथा बेलपत्र पनि चढाउने गर्छन् । मन्दिरमा अहिले भक्तजनले चढाएको भान्टाको भार तथा धानको मौरले भरिभराउ छ । हजारौंको संख्यामा मन्दिर आएका भक्तजनको भीड ब्यवस्थापन गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित मन्दिर व्यवस्थापन समितिका स्वयंसेवकलाई व्यवस्थापन गर्न दिनभर हम्मे हम्मे परेको थियो । छिमेकी जिल्ला महोत्तरी, सिन्धुली रौतहटसहित भारतबाट समेत भक्तजन यहाँ आउने गरेका छन् ।


हरेक वर्ष महाशिवरात्रिका दिनदेखि यहाँ मेलासमेत लाग्ने गरेको छ । यस वर्ष फागुन १४ गतेसम्म मेला चल्ने चितायन मेला समितिका अध्यक्ष सुद्दोधन धामीले जनाए । ‘भक्तजनले चिताएका कुरा पुरा हुने भएकाले यस मन्दिरलाई चितायन मन्दिर पनि भनिन्छ,’ उनले भने, ‘विश्वासको जगमा अडिएर झण्डै तीनसय वर्ष अघिदेखि मेला लाग्दै आएको छ ।’ परापूर्वकालदेखि शिवरात्रिका दिन पूजाआजाका साथ मेला लाग्ने गरेकामा केही वर्षयता प्रदेशस्तरीय भलिबल प्रतियोगिता समेत सुरुवात भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय